दीपक मनाङेको अझै भएन शपथग्रहण



पोखरा : कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले शपथ लिएपछि गण्डकी प्रदेशसभामा शपथका लागि निवेदन दिएका निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अझै शपथ लिन पाएका छैनन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार मनाङेलाई शपथ गराउन नमिल्ने निष्कर्ष निकालेकाले उनले शपथ लिन नपाएका हुन् । 

रेशमले शपथ लिँदा आफूले किन नपाउने भन्दै मनाङेले केही दिनअघि प्रदेशसभामा शपथग्रहणको माग गर्दै निवेदन दिएका थिए । 

सभामुख अधिकारीले यसअघि शपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक बोलाएका थिए । उक्त बैठकमा मनाङेलाई शपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले मनाङे हाल थुनामुक्त छन् ।

मुलुकी ऐनको दफा १९४ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै मनाङेले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए । गएको मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्