एक महिनामै ४६ अपराधी पक्राउ



सुर्खेत : जिल्ला प्रहरी कार्यालय पछिल्लो समयमा खरो रूपमा आफ्नो गतिविधि सक्रिय बनाएको छ । प्रहरीले पछिल्लो एक महिनामै विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मंसिरदेखि पुस महिनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीहरूलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ रुपैयाँ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पुर्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनले भने, ‘जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौं ।’ अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेकाले उनीहरूलाई समात्न नसकिएको उनको भनाइ छ ।  

 

 बुधवारमात्रै सुर्खेत जिल्ला अदालतले ६५ वर्षको अवधिमा ९५५ जना अपराधी फरार रहेको सूची सार्वजनिक गरेको छ । उनीहरू सबैलाई प्रहरीले विशेष निगरानी बढाएको उनले बताए । कर्तव्यज्यान मुद्दाका फरार अपराधी बढी छन् भने २५ रुपैयाँ तिर्न नसकेका अपराधी पनि फरार छन् । 

 

वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता क्षेत्रीले जतिसक्दो सुर्खेतलाई फरार अपराधीमुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाए । प्रहरीको लक्ष्यलाई सफल बनाउन सर्वसाधारणस्तरबाट समेत सहयोगको अपेक्षा रहने उनले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्