हुन्डीमा संलग्न पाँच सार्वजनिक



जनकपुरधाम : गैरकानुनी आर्थिक कारोबार (हुन्डी)मा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै जनकपुर उपमहानगरपालिका–९ का विजय यादव, भारत मधुवनी घर भई हाल जनकपुर–११ बस्ने सन्तोष महतो, सोही स्थानका पप्पू कुमार दास, सुरज ठाकुर र नरेश महतोलाई नगद र विभिन्न बैङ्कका चेक बुकसहित सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरूले भारत, चीन, खाडीका विभिन्न मुलुक, अष्ट्रेलियालगायतका देशमा हुन्डी कारोबार गर्दै आएको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

जनकपुर–११ को किशोरीनगरस्थित रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय काठमाडौं,  प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूको साथबाट ८३ लाख ६२ हजार नेपाली रुपैयाँ र ६ हजार ६ सय भारतीय रुपैयाँ बरामद गरिएको छ । मुख्य कारोबारी रामेश्वर साह फरार रहको र उनको खोजी भइरहेको एसपी थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्