यूएईका राजकुमारलाई पाकिस्तानमा भव्य स्वागत



इस्लामाबाद: पाकिस्तान सरकारले युनाइटेड अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहमद बिन जायद अल–नाहयानलाई इस्लामाबादमा भव्य स्वागत गरेको छ । पाकिस्तानको कमजोर अर्थतन्त्रलाई मद्दत गर्न यूएईले हालै मात्र तीन अर्ब अमेरिकी डलर उपलब्ध गराएको थियो ।

 

प्रधानमन्त्री इमरान खानले राजकुमार अल–नाहयानलाई पाकिस्तान हवाई अखडामै पुगेर स्वागत गरेका थिए । पाकिस्तानी सशस्त्र सैन्यबलको एक टुकडीले राजकुमारलाई सम्मान गारद अर्पण गरेको थियो ।

 

संयुक्त अरब इमिरेट्स मध्यपूर्वका मुलुकमा पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीकर्ता मुलुक हो । राजकुमारको भ्रमणअघि पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा कामको सिलसिलामा यूएईमा १५ लाखभन्दा बढी पाकिस्तानी रहेको उल्लेख छ ।

 

यूएईको सुरक्षा फौजका उपप्रमुखसमेत रहेका अल–नाहयानले प्रधानमन्त्री खानसँग सामूहिक र अलग भेटवार्ता गर्नुहुने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईले गत डिसेम्बरमा पाकिस्तानको मौद्रिक ‘तरलता सुदृढ’ गर्न पाकिस्तानी केन्द्रीय बैंकमा ३ अर्ब अमेरिकी डलर निक्षेप राखेको थियो । तरलता अभावकै कारण पाकिस्तानको भुक्तानी सन्तुलनमा सङ्कट उत्पन्न भएको थियो ।

 

गत नोभेम्बरको अन्त्यमा पाकिस्तानी मुद्रा रुपीमा झण्डै पाँच प्रतिशतले गिरावट आएको थियो । यही कारण गत वर्ष पाकिस्तानको केन्द्रीय बैंकले छैटौं पटक रुपीको अवमूल्यन गरेको थियो । पाकिस्तानले साउदी अरबबाट पनि ६ अर्ब डलर प्राप्त गरेको छ ।

 

इस्लामाबादले महत्वाकाँक्षी पूर्वाधार परियोजनाका लागि चिनियाँ ऋण बापत अर्बौं डलर प्राप्त गरिसकेको छ । गत वर्ष नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डलले पाकिस्तानको भ्रमण गरी अर्थतन्त्र सुधारका बारेमा वार्ता गरे पनि कुनै सम्झौता हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्