कालिकामाई गाउँपालिकमा सञ्चालित कार्यक्रमका सहभागिलाई स्थानियले थुनेपछि…



वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिकामा प्रदुषण र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरुलाई स्थानियले स्कुलको कक्षा कोठामा थुनेका छन् । हिजो (बिहीबार) गाउँपालिकाकै श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कट्टी बलुवामा एक दिनको विदा दिएर गाउँपालिकाको आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको स्थानियले विरोध गर्दै कार्यक्रममा सहभागिहरुलाई विद्यालयको कक्षा कोठामा थुनेका हुन् ।

स्थानियले बालबालिकालाई प्रभावित हुने गरी विदा नै दिएर स्कुलको हलमा आयोजना गरिएको कार्यक्रमको विरोध गर्दै कार्यक्रममा सहभागिलाई थुनेको बताए । स्थायिवासीहरुको अनुसार कक्षा सञ्चालन भइरहेको अवस्थामा अभिमुखिकरणको लागी विद्यार्थीहरुलाई कक्षा कोठाबाट हटाई सञ्चालन गरेकोले कक्षाकोठा भित्र थुनेको स्थानियले बताए ।

यता घटनास्थल पुगेका प्रहरी र जनप्रतिनिधिहरुमाथि पनि स्थानियले आक्रोश पोखेका थिए । उनीहरुले विवाद खडा गरेपछि प्रहरीले रोक्न खोज्दा झडप समेत भएको थियो । विवाद साम्य भएपछि थुनिएका कार्यक्रमका सहभागिहरुलाई कक्षा कोठाको ताल्चा फोडेर प्रहरीले बाहिर निकालेको थियो ।

सथानीयवासीले कार्यक्रमको नाममा आफ्नो आसेपासेलाई सहभागि गराई व्यापक रुपमा अनिमितता समेत गरेको आरोप लगाएका छन् । स्थानिय रंजित साह अनुसार वडा अध्यक्षले कार्यक्रम आयोजना गरिएको ठाउँकै एक जनालाई पनि सहभागिता गराएका छैन, आफ्नो अनियमितताको पोल खुल्ने डरले आसेपासेलाई कार्यक्रममा सहभागिता गराई एउटा कागजी प्रक्रिया मात्र पूरा गर्न खोजेको आरोप लगाए ।

वडामा हुने गैसचुल्होदेखी औषधी छर्ने ट्याकीसम्म पार्टीका व्यक्ति, आफन्त, घरपरिवारलाई दिएको र अभिमुखिकरणमा पनि साविक वडा नम्बर २ का कुनै महिलालाई सहभागी नगराएकोले स्थानियवासी विरोधमा उत्रेको उनको भनाइ छ ।

आयोजित अभिमुखिकरण कार्यक्रममा प्रत्येक वडाबाट २०-२० जनालाई सभागिता गराउनु पर्ने प्रावधान रहेपनि साविक वडा नम्बर २ हाल वडा नम्बर ४ का एकजना महिलालाई पनि सहभागित नगराइएको स्थानिय लक्ष्मण साहले बताए ।

घटना बारे गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहासँग बुझ्दा आफुलाई यसबारे केही जानकारी नभएको बताए । उनले गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिँदै घटना दबाउन खोजेका आरोप स्थानीयको छ । यता वडा नम्बर ४ का वडाध्यक्ष कलवारले साविक गाविसको पर्शुरामपुरको वडा नम्बर १ देखि ९ सम्मको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

‘जनचेतना कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेको थियो, सोही क्रममा विवाद भएको हो । म भर्खर कार्यक्रम स्थल पुगेको छु, घटनाबारे विस्तृत जानकारी पाउना साथ खबर गर्ने छु ।’ उनले भने । तर, कार्यक्रम आयोजनाको लागि के कति बजेट छुट्याएको बारे जानकारी माग्दा आफूलाई यस विषयमा केहि जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्