श्रीसिया नदी प्रदूषण मुक्तको माँग गर्दै वीरगन्जमा धर्ना



वीरगन्ज : “स्वाच्छ नदी पवित्र जल, स्वास्थ जीवन समृद्ध वीरगन्ज” भन्ने मुल नाराका साथ पर्साको सरीसवा (श्रीसिया) नदी एवं वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साले वीरगन्जको घण्टाघर चौकमा धर्ना दिएको छ ।

अभियानका संयोजक एवं अधिवक्ता सुरेन्द्र राउत कुर्मीको नेतृत्वमा रहेको अभियानका पदाधिकारी एवं समाजिक अभियान्ताहरुले श्रीसिया प्रदुषण मुक्त बनाउनुपर्ने लगायत आठ बुन्दे माग राख्दै हिजो (बिहीबार) विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म वीरगन्जको घण्टाघर चौकमा धर्ना दिएका हुन् ।

धर्नामा बसेका अभियान्ताहरुले श्रीसिया नदीमा वीरगन्ज महानगरपालिका द्वारा जोडिएको सम्पूर्ण नालाको फोहोर पानीलाई प्रशोधित गरी मात्र नदीमा फाल्ने व्यवस्था मिलाउँनु पर्ने, छाला र मासु उद्योगले रौं जीवको अवशेष र केमिकल्स युक्त पानी नदीमा खसाल्न बन्द गर्नुपर्ने, उद्योगबाट निस्कने छाई र दुषित पानी नदीमा खसाल्न प्रतिबन्ध लगाउँनु पर्ने माँग गरेका छन् ।

त्यसैगरी वीरगन्जलाई बाढीबाट जोगाउँन श्रीसिया नदीलाई अतिक्रमण मुक्त बनाउनुपर्ने, महानगरभित्र रहेका उद्योगहरुको धुवा र छाईबाट पीडित जनतालाई जोगाउन प्रत्येक उद्योगमा धुँवा छाई रोक्ने यन्त्र जडान गर्नुपर्ने, महानगरभित्र औद्योगिक क्षेत्र बनाई मानव बस्ती भित्र रहेको उद्योगलाई क्रमिक औद्योगिक क्षेत्रमा हस्तान्तरण कार्य योजनाको शुभारम्भ गर्नुपर्ने, सौराहामा रहेको हाड तथा मासु उद्योगबाट निस्कने मासुका टुकरा रगत लगायत दुषित पानीले स्थानिय प्रभावितसँगै तिलावे नदीको पानी समेत दुषित गरीरहेकोले अविलम्ब उद्योग बन्द वा व्यवस्थित गराउनु पर्ने माँग अगाडी अभियानले सारेको छ ।

सम्बन्धीत निकायलाई ध्यानकर्षण गराउन र चेतावनी स्वरुप बिहिबार एकदिने धर्ना कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक कुर्मीले बताए । उनले भने, ‘हाम्रो माग प्रति स्थानिय सरकार, संघ सरकारले सुनवाई नगरे कडा आन्दोलनमा उत्रिने छौं ।’

‘श्रीसिया नदी प्रदूषणका कारण यस क्षेत्रका वासिन्दाहरु विभिन्न रोगले ग्रसित भएर जीवत भएर पनि मरणासन्न अवस्थामा पुगेका छन्’, संयोजक कुर्मीले उद्योगबाट निस्कने प्रदुषित पानीले गर्दा महानगररपालिको सुखचैना, पटेलनगर, जगरनाथपुर, सौराहा, भवानीपुर, मनिहारी लगायतका क्षेत्रका स्थानियहरु प्रभावित हुदै आएका छन ।

धर्ना कार्यक्रममा भिजिट मधेशका संयोजक एवं सभाजिक अभियान्ता ओम प्रकाश सर्राफ, समाजिक अभियान्ताहरु ओम प्रकाश थारु, जसपाल सिंह, वडा नम्बर १८ का ब्रहमदेव राउत कुर्मी, अभियानका दिपेन्द्र सिंह पटेल, लालबाबु सिंह, बृजेश्वर प्रसाद चौधरी, कन्हैया पटेल, छोटेलाल राम, हरेन्द्र पटेल, अनिल कुमार पटेल लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्