राउटेले लगाए कोट



सुर्खेत: आफुलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

 

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई लगाएका थिए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरीएको छ । सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरीएको हो ।

 

प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो ।

 

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र ग्रैहराउटेहरु सहभागि भए । माघीको चटारोमा रहेका फिरन्ते जाति राउटे समुदायका नागरिकको सिप र संस्कृति संरक्षण सहितको सामाजिकीकरण गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभियान थालेको हो ।

 

राउटे बस्तीमा सहभोजसँगै स्वास्थ्य शिविर संचालन गरिएको छ । चिसो मौषमसंगै समुदायका नागरिकहरुलाई संकमण देखिन थालेपछि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समुदायका बालबालिका देखि बृद्धबृद्धाहरुमा विभिन्न समस्या देखिएको बस्तीमा स्वास्थ्य परिक्षणका लागि पुगेका कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा.लोकेन्द्र थापाले बताए ।

 

बस्तीमा मन्त्रालयले ३ वटा सोलार जडान पनि गरेको छ । यस्तै राउटे बालबालिकालाई खेलौना, चामल वितरण गरेको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत तथा लैङ्गिक मुलप्रवाहिकरण शाखा प्रमुख अनिता ज्ञवालीले बताए ।

 

समुदायमा सहभोज, स्वास्थ्य जाँच, खाद्यान्न वितरणसँगै राउटेलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको समाचारपत्रमा खवर छ । गत असारमा राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको दैलेखको गुराँस गाउँपालिकाले बस्तीमा पुगेर यहि पुस महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका १ सय ४५ जनालाई २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्