राईफल ताक्ने कांग्रेसका सांसद शाहलाई जोगाउन प्रहरी प्रशासनको चलखेल



कपिलबस्तु : केही समयअघि जनकपुर विमानस्थलमा लफडा गरी थुनामा परेका राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका सांसद प्रमोद साहको घटना सेलाउन नपाउँदै अर्का सांसदले राप्रपाका एक नेतालाई बन्दुक देखाउदै मारिदिने धम्की दिएको घटना सार्वजनिक भएको छ ।

गत पुस ५ गते साँझ घरमै बोलाएर राप्रपा संयुक्तका केन्द्रिय सदस्य श्याम मिश्रालाई कुटपिट गरेका नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । दुई हप्तासम्म जाहेरी लिन नमानेको प्रहरी प्रशासनले अन्ततः जाहोरी लिन बाध्य भएको छ ।

मिश्रामाथि भएको घटनालाई ढिसमिस पार्न सांसद शाहले प्रहरी प्रशासनलाई दबाब दिदै आएका थिए । जाहेरी लिए पनि शाहमाथि अझै कारबाही हुन सकेको छैन् । जाहेरी परेपछि सांसद शाह फरार रहेका छन् । यद्यपी अझै पनि कपिलबस्तुको प्रहरी प्रशासन शाहकै पक्षमा देखिएपछि कारबाही हुने कुरामा आशंका उब्जिएको हो ।

कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर सांसद शाहले मिश्रालाई कुटपिट गरेका थिए । नेता मिश्राले आफुलाई हत्या गर्ने उद्देश्यले घरमै बोलाएर कुटपिट गर्ने सांसद शाहमाथि कानुनी कारबाहीको माग गर्दै आएपनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु यस विषयमा चासो लिएको थिएन भने नेता मिश्राले दिएको जाहेरी प्रहरीले अस्विकार गर्दै आएको थियो । केहीदिन अघि द नेपाल टपले यस विषयमा जिज्ञासा राख्दा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख दीप शम्शेर राणाले जाहेरी नपरेको बताएका थिए ।

कपिलबस्तु प्रहरी प्रशासनको सर्बत्र बिरोध हुन थालेपछि अन्ततः नेपाली काँग्रेस सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । कपिलवस्तु –३ बाट निवाचित सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा अस्ति बुधबार जाहेरी दिएका हुन् ।

न्याय नपाएपछि नेता मिश्राका समर्थकले चन्द्रौटा–कृष्णनगर सडकखण्ड बन्द गराएका थिए । पटक पटक प्रहरीलाई जाहेरी दर्ता गर्न भने पनि नमाने पछि सडक नै बन्द गरेर न्याय माग्न परेको मिश्राका समर्थकको गुनासो रहेको छ ।

यता इलाका प्रहरी कार्यालय कृष्णनगरले यो घटना जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हेरेको भन्दै उम्कने प्रयास गर्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले शाहाविरुद्ध जाहेरी दर्ता भएको बताएका छन् । शाहविरुद्ध दर्ता भएको मुद्दा अब अदालतबाट पक्राउको अनुमति लिएपछि अगाडी बढाउने उनले बताएका छन् ।

गत ५ गते आफ्नो घरमा बोलाएर मिश्रालाई एक्कासी गालीगलौज गर्दै सांसद शाहले गेस्ट रुममा ढोका थुनेर अन्धाधुन्ध कुटपिट गरेकोे मिश्राको आरोप छ । कुटपिटबाट आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको मिश्राले बताएका छन् । त्यस्तै मिश्रालाई सांसद शाहले राईफल तेस्र्याउदै मारिदिने धम्की पनि दिएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका मिश्रा दोस्रो स्थानमा आएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्