विलासी वस्तु आयात नियन्त्रणको तयारी



काठमाडौं : विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा आंशिक नियन्त्रण (परिमाणात्मक बन्देज)को तयारी थालेको छ । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात भएका वस्तुको संरचनागत वर्गीकरणका आधारमा विलासी वस्तुको आयातमा परिमाणात्मक बन्देज तथा कृषि उत्पादनतर्फ आयात प्रतिस्थापन गर्ने तयारी गरिएको हो ।

बढ्दो शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति कमजोर भएपछि सरकारले आयातमा कडाइ गर्न लागेको छ । विदेशी मुद्रा आर्जनको मजबुत आधार नभएकाले राष्ट्र बैंकले आठ महिनाको आयात धान्न विदेशी मुद्रा सञ्चिति अपुग भए जटिलताको संकेत गर्छ ।

चालु आर्थिक वर्षमा आयात अत्यधिक बढेको छ । आयातमा आधारित राजस्व नीतिका कारण आयात वृद्धिबाट सरकारले प्राप्त गर्ने राजस्व पनि वृद्धि हुने गरेको छ ।

चालु आर्थिक वर्ष सरकारले नौ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यसका कारण सरकारले राजस्वमा धेरै असर नपर्ने गरी कृषि उत्पादन र विलासी वस्तुमा भने नियन्त्रण गर्न लागेको हो ।

अर्थ मन्त्रालयले वस्तु व्यापारतर्फ कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो । 

राजस्व सचिवको संयोजकत्वमा राष्ट्र बैंकका कार्यकारी निर्देशक, उद्योग विभाग, वाणिज्य विभाग, भन्सार विभाग, कृषि विभागका महानिर्देशक र अर्थ मन्त्रालयकै आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव सम्मिलित रहेको समितिले यसै साता प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउन लागेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्