आखिर धनुषा बमकाण्ड कसले गरायो ? विप्लवका अर्का नेता पक्राउ



जनकपुरधाम : गत मंसिर २७ गते राति धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका –५ सखुवा महेन्द्र नगर बजारमा स्थानीय औषधी व्यवसायी राजेश साहको घरमा भएको बम विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । साहको घरमा बम कसले राखेको हो भन्ने विभिन्न अड्कल बाजी भइरहेका छन् । स्थानीय व्यवसायी राजेशले रकम लगानी गर्ने र व्यापार व्यवसाय गर्ने भएकोले ऋण लिनेहरुबाटै बम राखिएको अड्कलबाजी भइरहँदा प्रहरीले भने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव समूहले घटना घटाएको हुन सक्ने आशंका सहित अनुसन्धानको सुई त्यसतर्फ तेस्र्याएको छ ।

घटना भएको २२ दिनपछि प्रहरीले बम काण्डका मुख्य योजनाकार रहेको भन्दै विप्लव समूहका केन्द्रीय नेता आदम राइनलाई गत बुधबार पक्राउ गरेको छ । राइन पक्राउको विषयमा प्रहरीले सूचना सार्वजनिक गरेको छैन । यद्यपी धनुषाका एक प्रहरी अधिकारीका अनुसार राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

ति अधिकारीका अनुसार राइनसँगको अनुसन्धानबाट बम काण्डबारे धेरै कुरा बाहिर आउने छ ।
यसअघि पनि प्रहरीले बम काण्डमा संलग्न भएको आशंकामा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक सितादेवी महरा र केन्द्रीय सदस्य ललिता महरासहित स्थानीय नेता रामसोभित गाहालाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

गत मंसिर २७ गते राति इलाका प्रहरी कार्यालय महेन्द्रनगर भन्दा करिब ४ सय मिटरको दूरीमा रहेको स्थानीय व्यवसायी राजेश साहको घरमा भएको बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमिर दाहालसहित घरधनी राजेश साह र अन्नद साहको मृत्यु भएको थियो । त्यस्तै राजेशका बाबु भिखारी साह, छोरा प्रकाश र छोरी अन्जलीसहित प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।

त्यसदिन मध्यरातमा शौचालय निस्केकी राजेशकी श्रीमतीले बाहिर ढोकामा प्रेसरकुकरसहित झुन्डिएको देखेपछि राजेशलाई उठाएकी थिइन् ।

राजेशले तत्कालै प्रेसरकुकरसहित झोला झुन्ड्याइएको देखेपछि घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकालेर इलाका प्रहरी कार्यालय पुगेर घटनाबारे बताए ।

इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ नेपाली सेनालाई पनि खबर गरेर आफै घटनास्थल पुगे । इन्स्पेक्टर दाहालले खबर गरेपछि महेन्द्रनगरमै रहेको नेपाली सेनाको बम डिस्पोजल टोली तयार हुँदै थियो ।

ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि अघि र २ जना प्रहरी जवान पछि पछि गएर हेर्न खोज्दाखोज्दै बम विस्फोट भएको हो ।

बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्