मेलम्चीका अधिकांश पसल दर्ताबिनै सञ्चालन



मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिनै सञ्चालन गरिएको पाइएको छ ।

 

मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५ सय ५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ ।

 

अनुगमन समितिका संयोजक रामबहादुर लामाले प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो गरेका बताए । 

तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिइ नगरले कर मात्र लिएको गुनासो गरे।

 

त्यस्तै अर्का व्यवसायी दीपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई कर मात्र लगाएर दुःख दिएको आरोप लगाए ।

 

नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए रु पाँच हजार जरिवाना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्