श्रीमतीले साढे चार करोड लुकाउदा उपसचिव ढुंगानालाई जेल



काठमाडौं : भ्रष्टाचार गरेको रकम आफ्नी श्रीमती मधु कोइराला (ढुंगाना)को नाममा राख्दै आएका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज (शुक्रबार) मुद्दा दायर गरेको छ ।

उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी कमाएको ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ जफत गर्ने मागदाबीसहित आयोगले ढुंगाना र उनकी श्रीमती मधुसहित आरोप पत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ देखि २०७५ सम्म आर्जन गरेको ७९ लाख ५४ हजा ७ सय ९५ को तुलनामा सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख तीन हजार ३ सय ५६ रुपैयाँ देखिएको र निजले गरेको खर्च तथा लगानी ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँको स्रोत खुल्न नआएका हुँदा उपसचिव ढुंगाना र उनकी श्रीमती मधुलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्