प्रधानमन्त्रीको गृह जिल्लाः सडक छैन, भ्यु टावरको तयारी !



झापा: पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ ।

 

त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए। खेतका बीचमा शिलान्यास गरिएको स्तम्भको माथिल्लो भाग हराइसकेको छ । त्यहाँसम्म पुग्ने मूल सडकको कालोपत्रे योजना योजनामै सीमित छ। ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला?’, स्थानीयको प्रश्न छ।

 

स्थानीय केशव दाहालका अनुसार त्यहाँ पुग्ने सडक बनाउन थालिएको लामो समय भए पनि काम सकिएको छैन । ‘विकासका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनु स्वाभाविकै हो,’ उनले भने, ‘तर ठूला योजना आउने ठाउँमा सडक बन्नै यत्रो समय लाग्नुचाहिँ अनौठो हो।’ समयमै सडक बनाउन भन्दै स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन।

 

अघिल्लोचोटि ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको सो भ्यु टावर निर्माणका लागि एक अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान थियो। तर अहिलेको विस्तृत परियोजना प्रतिवेदनमा दुई अर्ब ७४ करोड लाग्ने अनुमान छ। शिलान्यासका बेला ओलीले सुविधासम्पन्न भ्यु टावर बनाउने बताएका थिए।

 

‘माथिल्लो तलामा घुम्ने रेस्टुरेन्ट हुनेछ, टावरबाट पूर्वतिर टिस्टा नदी नै देख्न सकिनेछ,’ उनले शिलान्यासका बेला भनेका थिए, ‘मुलुककै आकर्षक भ्यु टावर बनाउने जिम्मेवारी सरकारले लिनेछ।’ त्यतिबेला प्रधानमन्त्री ओलीसँग तत्कालीन सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीसमेत आएकी थिइन् ।

 

अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका–३, दापगाछीमा दुई वर्षअघि शिलान्यास गरेको भ्यु टावर निर्माणस्थल गौचरनमा परिणत । त्यहाँ पुग्ने सडक कालोपत्रे योजना योजनामै सीमित । भ्यु टावर बनाउन ६ बिघा जमिन छुट्याइएको नागरिकमा खवर छ ।

 

तर जग्गादातामध्येका डिल्ली चापागाईं भ्यु टावर निर्माणले दुई वर्षसम्म गति नलिँदा अन्योल बढेको बताउँछन्। ‘कति मान्छेले भ्यु टावर बन्दैन भनेका छन्,’ उनले भने, ‘यतिका समय भ्यु टावर नबन्दा साँच्चै आशंका उब्जिएको छ।’ उनका अनुसार भ्यु टावर बन्ने भनेपछि जग्गाको बिक्री मात्रै बढ्यो। ‘बाटो भएनभएका सबैतिर जग्गाको भाउ प्रतिधुर दुई लाखबाट १० लाख पुग्यो,’ उनले भने, ‘जग्गा धेरै हुनेले टन्न कमाए तर योजनाले गति लिएको छैन।’

 

भ्यु टावर बन्ने खेतको बीचमा शिलान्यास स्तम्भ छ। त्यसको माथिल्लो भाग भने उप्किसकेको छ। भ्यु टावर बन्ने भनिएको खेतकै आडमा कमला दवाडी बस्छिन्। ८५ वर्षीया उनलाई भ्यु टावर बनिहाले देख्न पाइने ठूलो आशा छ। ‘सिँढी चढ्नुनपर्ने, तलबाट एकैपटक माथि पुगिने भनेका थिए प्रधानमन्त्रीले,’ उनले भनिन्, ‘तर अहिलेसम्म त्यहाँ एउटा खाँबोबाहेक केही देख्दिनँ।’

प्रतिक्रिया दिनुहोस्