गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट



बनेपा : स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् ।

खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको स्थानीय शेखर लामाको भनाइ छ ।

‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नेकपा जिल्ला सदस्य लामाले भने, ‘बनेपामा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि सचिव र अध्यक्ष खोज्दै सहर धाउनुपर्ने बाध्यता छ ।’

यो ठाउँमा सूचना, सञ्चार, यातायात, विद्युत् र सरकारी सेवाको सहज पहुँच छैन । निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको भनाइ छ ।

‘पहिला कर्मचारी हुँदा र अहिले जनप्रतिधि आउँदा सेवा–सुविधामा केही फरक महसुस भएको छैन’, खानीखोला गाउँपालिकाका सन्त तामाङले भने, ‘दुई दशकपछि नयाँ जनप्रतिनिधि आए पनि वडाध्यक्ष, वडासचिव गाउँ नबस्दा स्थानीयलाई सास्ती बढेको छ ।’

उनका अनुसार विगतमा सिफारिस बनाउन सचिव खोज्दै सहर धाउनुपथ्र्याे । कार्यालय गाउँमा होइन, झोलामा छ । अध्यक्ष र कर्मचारी दुवै खोज्दै सहर धाउनुपर्छ । ‘फोन लगाउन आउँदैन’, उनले भने, ‘बनेपा सहरमा सोध्दै–खोज्दै कर्मचारी र जनप्रतिनिधिलाई भेटेर काम गर्नुपर्छ ।’

सन्त त प्रतिनिधि पात्र मात्र हुन्, खानीखोलाका सयौं स्थानीय दैनिक वडाध्यक्ष र कर्मचारी खोज्दै काम गर्नुपर्ने बाध्यतामा छन् । बनेपा आउजाउ गर्दा १० हजार रुपैयाँ खर्च हुने गरेको स्थानीय बताउँछन् । आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्