वाइड बडीका विषयमा नबोलेको भन्दै विरोध



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाएका छन् । 

 

प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरिदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उनले विरोध गरेका हुन् । सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए ।

 

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै उनीहरुले विरोध गरेका हुन् । नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद, अख्तियार, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाए । 

 

सभामुख कृष्णबहादुर महराले प्रतिपक्षबाट सदन अवरोध गरेपछि आइतबार नै १५ मिनेटका लागि सदन स्थगन गरेका थिए ।  सांसद बालकृष्ण खाँणले सभामुख महरासँग प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए । 

 

 

उनले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्