भत्ता दुरुपयोग अभियोगमा मुद्दा



काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम लिइ भ्रष्टाचार गरेको अभियोगमा भोजपुरको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

आयोगका अनुसार मृत व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा तत्कालीन गाविस सचिव रेवतीकुमार कोइराला, तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठ र अर्का सहयोगी मनिष चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ ।

 

आयोगले सचिव कोइरालाले रु ८३ हजार, कार्यालय सहयोगी श्रेष्ठले रु दुई लाख २७ हजार र अर्का सहयोगी चौधरीले रु दुई लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । मृत्यु एवं बसाइँसराइ गरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी ती व्यक्तिको फर्जी औँठा छाप लगाई रकम झिकी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्