विद्यार्थी कुट्ने शिक्षक फरार



बुटवल : शिक्षक भन्ने बित्तिकै सम्मानको नजरले हेरिन्छ । शिक्षक पेशा आफैँमा सम्मानित पेशा हो । शिक्षकलाई समाजको ऐनाको रुपमा हेरिन्छ । हुन पनि हो समाज बदल्नको लागि शिक्षा आवश्यक पर्छ । त्यही शिक्षा बाड्ने काम शिक्षकहरुले गर्छन् । यसरी अरुको चेतना स्तर वृद्धि गर्ने शिक्षकले आफ्नै चेतना गुमाएपछि कसको के लाग्छ ।

यसरी चेतना स्तर नै गुमाउने शिक्षक हुन शैलेन्द्र बरई । उनले आफ्नै विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । सम्मरीमाई गाउँपालिका–६ स्थित ज्ञानदीप ईङलिस बोर्डिङ्ग स्कुल पोखरहवामा कक्षा पाँचमा अध्यनरत १२ वर्षीय मोहमद तोफिक देवानलाई शिक्षक बरईले कुटपिट गरेका हुन् । उनीविरुद्धको जाहेरी प्रहरीले दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय मर्चावारमा उजुरी दर्ता भएको हो ।

शुरुमा उजुरी लिन नमानेको प्रहरीले दवाव थेग्न नसकेपछि अन्तिममा दर्ता गरेको हो । मुद्दा दर्ता भएको थाहा पाउने बित्तिकै शिक्षक बरई फरार भएका छन् । आरोपित शिक्षकले कम्प्युटर विषयको प्रयोगात्मक कक्षामा नजानेको आरोपमा लाठीले कुटपिट गरी डेक्समा टाँउको ठोकाएको पीडितका हजुर बुबा अहमद हुसेन देवानले बताए ।

शिक्षकको कुटपिटबाट मोहमदको बाँया आँखा र बाँया खुट्टामा चोट लागेका पीडितको लुम्बिनी रण अम्बिका आँखा अस्पताल, भैरहवामा पुस १७ गते उपचार भएको छ । घटना पश्चात आरोपित शिक्षक फरार रहेका छन् भने पुस १७ गतेदेखि विद्यालय बन्द रहेको स्थानीय पत्रकार अस्लाम खानले बताए ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पोषणराज ढकालले आरोपित शिक्षक फरार रहेको र उजुरीका आधारमा कारवाही अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्