संसार ठानेको प्रेमीले नै तमोरमा बगाइदिएपछि…



काठमाडौं : प्रेममा सबै थोक जायज छ। प्रेम अन्धो हुन्छ, प्रेममा परेपछि मानिस जे पनि गर्न तयार हुन्छन्। कसैले कसैका लागि ज्यान समेत दिन पछि हट्दैनन्। प्रेममा परेपछि सबैलाई यस्तै हुदो रहेछ। न कसैले भनेको कुरा सत्य लाग्छ। न उ भित्रको गलत कुराको नै मतलब हुन्छ । हो यस्तै घटना भएको छ, नेपालको पूर्वीक्षेत्र पाचँथर जिल्लामा।

१९ वर्षे लक्का जवानीमा सुन्दर सपनाको कल्पना गर्दै आफ्नै घरमा बसेको शिक्षकसँग रमाइरहेकी मन्दिरा अधिकारीलाई के थाहा आफुले संसार ठानेको र सर्वस्व नै सुम्पिएको आफ्नो मान्छेले आफुलाई तमोर नदीमा बगाइदिन्छ भन्ने।

मन्दिरा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३, हाङपाङका २७ बर्षीय रमेश अधिकारीसँग प्रेममा परिन्। रमेश, नाताले उनको नजिकैको दाजु समेत थिए । उनी तीन बर्ष अघिदेखि फुलबारीकै गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए ।

निमावि तहका लागि करार शिक्षकको रुपमा कार्यरत रमेश मन्दिराकै घरमा डेरामा बसेका थिए। एउटै घरमा बस्न थालेपछि एक अर्कालाई धेरै बुझ्न थाले। उनीहरु एकअर्का प्रति हराउन थाले।

एउटै घरमा बसेको भएपनि घरमा अरुले थाहा पाउने डरले फोन, म्यासेज, फेसबुकमा कुराकानी गर्न थाले। प्रेममा विश्वास नै सबैभन्दा ठुलो कुरा भएकोले मन्दिराले आखाँ चिम्लिएर विश्वास गरिन्।

विश्वास नगर्नु पनि कसरी रमेशलाई त आफ्नो संसार ठानेकी थिइन्। दुख–सुखमा साथ दिने ज्यान सम्झिएकी थिइन्। मन्दिराले सानैदेखि ठुला सबै कुरा सेयर गर्थिन्।

उनलाई पनि लाग्थ्यो आफुले जतिनै रमेशले पनि माया गर्छ। रमेशले पनि त मायामा खोट (शंका) गर्ने ठाँउ नै दिएको थिएन। उनी रमेशविना एक पल पनि बाँच्न नसक्ने अवस्थामा पुगिन्।

उनीहरुले संगै जीउने सँगै मर्ने कसम खाए। जस्तो सुकै विग्न बाधा आइपरे पनि सँगै जुध्ने अठोट गरे। मिठा मिठा सपना कोरे। बिस्तारै रमेशले शारिरीक सम्बन्धको लागि दबाब दिन थाले ।

आखिरीमा जे जस्तै भएपनि रमेशसँगै जीवन बिताउने भएपछि मन्दिराले पनि विवाह अघि नै शारीरिक सम्बन्ध राख्न राजी भइन्। रमेशले भनेका कुरा सबै मान्दै आइन्। तर रमेशले झुटा प्रेममा फसाइरहेको थियो।

उसले मिठा–मिठा कुरामा भुलाउँथ्यो। साँच्चै मन्दिरालाई पनि संसार जितेको भान हुन्थ्यो। रमेशले जति माया अरु कुनै केटाले गर्दैन जस्तो लाग्थ्यो। आफूले आफूलाई भाग्यमानी ठान्थिन्।

गत चैत महिनामा दरबन्दी समायोजनपछि रमेश आफ्नै घर हाङपाङ गएका थिए । सयौं जुनी सँगै बाच्ने कसम खाएका रमेश एकाएक परिवर्तन हुन थाले। । उनले भेटघाट मात्रै होइन बिस्तारै कुराकानी गर्नसम्म छाडे। न फोन उठाउथे न म्यासेजको रिप्लाई नै दिन्थे ।

नजिक्कैको आफन्त पर्ने भएकोले मन्दिराले आफ्न्तबाट थाहाँ पाइन्, रमेशले ताप्लेजुङ जिल्लाकै एक युवतीसँग बिवाह गर्दै छन् । मन्दिरा एकाएक छाँगाबाट खसेजस्तो भइन्। संसार ठानेको मान्छेले कसरी यस्तो गर्न सकेको उनलाई विश्वास गर्न गाहे भयो। आफुलाई सम्हाल्न सकिनन्। उनलाई बारम्बार फोन, म्यासेज गर्न थालिन्। उनलाई विश्वास लागेको थिएन उनले यस्तो गर्छन् भनेर।

अन्ततः रमेशले आफ्नो बिवाहका लागि सामग्री किन्न ताप्लेजुङ सदरमुकाम फुङलिङ गएर फर्किने क्रममा फोन गरी भेट्न बोलाए । आफ्नो संसार ठानेको मान्छेले धेरै समयपछि भेट्न बोलाउँदा नगर्इ बस्न सकिनन्, उनी।

उनको मनमा उब्जिएका धेरै प्रश्न सोध्नु थियो रमेशसँग र उनी भेट्न गइन्। भेटेपछि उनीहरुबीच विवाहकै विषयमा विवाद सुरु भयो । विवाहको विषयमा विवाद चुलिँदै गएपछि आवेशमा आएर रमेशले मन्दिराको हत्या गरे । हत्या गरेपछि उनले मन्दिराको शव तमोर नदीमा फालेर घर फर्के।

मन्दिराको हत्या भएको एक सातापछि, मंसिर २५ गते रमेशले विवाह गरे । यता, मंसिर १७ गतेदेखि हराएकी मन्दिराको शव ३३ औं दिनमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा भेटियो।

माछा मार्ने क्रममा स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

प्रेमी रमेशले नै हत्या गरी तमोर नदीमा फालेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेपछि मन्दिराका आफन्तलाई प्रहरीेले खबर गरियो । आफन्तहरुले मन्दिराले लगाएको हातका बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेको डीएसपी फुयाँलले बताए ।

अनुहार चिन्न नसक्ने अवस्थामा रहेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर लगिएको गरेको डीएसपी फुयालले जानकारी दिए ।

प्रेमी रमेशले मंसिर १७ गते राति आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारी पुछार र नाङ्खोल्याङ्को सेसम्भु जोडने खड्कुडे झोलुङ्गे पुल नजिकै हत्या गरी तमोर नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन् । रमेशलाई प्रहरीले हत्या गरेको २३ दिनपछि पुष नौ गते हाङपाङस्थित घरैबाट पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्