कर्मचारी आन्दोलनमा, दुर्गन्धित बन्दै वीरगन्ज



वीरगन्ज : वीरगन्ज महानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण फोहोर नउठेपछि वीरगन्ज सहर दुर्गन्धित बन्दै गएको छ । चार दिनदेखि महानगरपालिकाका कर्मचारीले फोहोर उठाएका छैनन् । कर्मचारी समायोजनलगायत विभिन्न सातसूत्रीय माग राख्दै महानगरपालिकाका कर्मचारी गत १९ गतेदेखि अनिश्तिकालीन आन्दोलनमा छन् ।

कर्मचारी आन्दोलनका कारण अहिले वीरगन्जको घण्टाघर चोक, आदर्शनगर, माईस्थान, घडिअर्वा, छपकैया, मुर्ली, बसपार्क, नगवा, पावरहाउस चोकबाट फोहोर नउठेपछि सहर नै दुर्गन्धित बन्न पुगेको मुर्लीका अगुवा सुरेश साहले बताए । 

‘कर्मचारी र मेयरको द्वन्द्वमा वीरगन्जवासीले किन सास्ती भोग्नुपरेको छ, नगरवासीले बुझ्न सकेका छैनन्’, घण्टाघर चोकमा पसल चलाउँदै आएका रवि सर्राफले भने, ‘कर्मचारीले आन्दोलनको विकल्प खोज्नुपर्छ ।’ फोहोर पसेका कारण नाला नाला जाम भएर सडकमा ढल बगिरहेको उनले बताए । 

महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बोर्ड तथा नगरसभाबाट पारित नै नगराई कर्मचारी समायाेजन गरेको भन्दै कर्मचारी  बिहीबारदेखि विरोधमा उत्रेका हुन् ।

 

आन्दोलनरत स्थानीय तह कर्मचारी संघ नेपाल महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताले महानगरका प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत भीष्म भुसालले तथाकथित संगठन तालिका र दरबन्दी लागू गर्न खोजेकाले आन्दोलनमा उत्रेको बताए । उनले भने, ‘महानगरको आय स्रोत र साधनले धान्नै नसक्ने गरी निजामतीतर्फका कर्मचारीहरु थुपार्ने कार्य भएको छ र स्थानीय तहका कर्मचारीलाई होच्याइएको छ ।’ 

महानगरपालिकाको वार्ताटोली र आन्दोलनरत कर्मचारीबीचको वार्ता असफल भएको छ । आइतबार बेलुकी महानगरपालिकाले आहवान गरेपछि कर्मचारी वार्तामा गएका थिए । तर वार्ता टुङ्गो नलागी कर्मचारी बाहिरिएका थिए । ४ सदस्यीय वार्ता टोलीसहित प्रमुख प्रशासकिय अधिकृतसँग मात्रै वार्ता गर्ने अडान लिँदै कर्मचारी संगठनका अगुवा बाहिरिएका थिए । 

कर्मचारी संघका अध्यक्ष गुप्ताले भने, ‘हामीलाई झुक्याएर वार्तामा लगिएको थियो, वार्तामा निजामतीतर्फका उपसचिव शिवप्रसाद लम्साललाई पनि राखिएको रहेछ । हामी निजामति कर्मचारीको उपस्थितिमा वार्ता गर्देनौं ।’

यसै बीच ‘व्यवस्थित वीरगन्ज अभियान’ नामक संस्थाले नगरको केही फोहोर संकलन गरेको छ । सस्थाका संयोजक दिलिपराज कार्कीको अगुवाइमा पर्सा प्रहरीलगायतको टोलीले सोमबारदेखि फोहोर उठाउन थालेको छ । कार्कीले भने, ‘सहर दुर्गन्धित बन्न थालेपछि प्रहरीको सहयोगमा ट्याक्टर भाडामा लिई फोहोर उठाउने काम आजदेखि सुरु गरेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्