जसवालद्वारा नेविसंघमा उम्मेदवारी घोषणा



विराटनगर : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं मोरङ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवार घोषणा गरिएको छ । 

संघका जिल्ला सदस्य र उर्लाबारी बहुमुखी क्याम्पसका नेविसंघ सभापति सुजित जसवालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । माघको तेस्रो साता हुने जिल्ला अधिवेशनका लागि सभापतिमा आफूले उम्मेदवारी घोषणा गरेको जसवालले बताए । 

आफूलाई मोरङ क्षेत्र नम्बर १ र २ का साथै विराटनगरबाहिरका अधिंकाश क्षेत्रीय, नगर र क्याम्पस समितिको समर्थन रहेको जसवालले पत्रकार सम्मेलनमा दाबी गरे । विभिन्न युवा क्लब, युथ रेडक्रस सर्कल, नेविसंघको क्याम्पस समितिलगायतका विभिन्न संस्थामा गरेको नेतृत्वले संघको जिल्ला नेतृत्व वहन गर्न सक्ने क्षमता आफूमा रहेको उनले बताए ।

 

सदरमुकाम विराटनगरबाहिर रहेर पनि संगठनको नेतृत्व गर्न सकिन्छ भन्ने उदाहरण आफूले प्रस्तुत गर्न चाहेको जसवालको भनाइ छ । पत्रकार सम्मेलनमा उर्लाबारी बहुमुखी क्याम्पस नेविसंघका पदाधिकारीहरू, संघको मोरङ क्षेत्र नम्बर २ का सचिव महेन्द्र ठाकुरलगायतको उपस्थिति थियो । 

 

प्रतिक्रिया दिनुहोस्