म्याग्दीको गुर्जामा हिमपात, गाउँबस्ती सेताम्यै, चिसोले सास्ती 



गलेश्वर : म्याग्दीको गुर्जामा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । आइतबार राति सुरु भएको हिमपातका कारण गाउँबस्ती सेताम्यै भएका छन् भने अत्यधिक चिसो बढेपछि स्थानीयलाई सास्ती भएको छ ।

हिमपातका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको गुर्जाका स्थानीय एवम् धौलागिरि गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए । किसान भने हिमपातका कारण खुसी भएका छन् । हिमपातले खेतीबालीमा राम्रो हुने भएकाले किसान खुसी भएका हुन् ।

समुद्री सतहबाट ३ हजार ३ सय २० फिट उचाइमा अवस्थित गुर्जामा डेढ फिट बाक्लो हिउँ परेको स्थानीय भीममाया छन्त्यालले जानकारी दिइन् । यसैगरी हिमाली जिल्ला मुस्ताङमा पनि बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्