राजगद्दी त्यागेर रुसी सुन्दरीको पछि लागे मलेसियाका सुल्तान



काठमाडौं : मलेसियाका सुल्तान मोहम्मद पाँचौंले सन् २०१६ मा राजगद्दी सम्हाल्दा उनी देशका सबभन्दा कान्छा सुल्तान बनेका थिए ।

 

पाँचौं सुल्तानले आइतवार आफ्नो शाही पद छोडेर अन्तर्राष्ट्रिय मिडियामा चलिरहेको बिहेको अडकललाई अझै चर्काए । विगत दुई महिनामा सुल्तान रिामी बिदामा थिए र मिडियामा उनले रुसकी एक सुन्दरीसँग चुपचाप बिहे गरेको खबर आएको थियो । 

 

बेलायती र रुसी सञ्चारमाध्यममा ४९ वर्षका सुल्तानले २५ वर्षीया रुसी सुन्दरीसँग प्रेम गरेको लेखिएको छ । दुवैले मस्कोमा बिहे पनि गरिसकेको भनिएको छ र सामाजिक सञ्जालमा केही तस्वीर पनि छाएका छन् । 

 

तर सुल्तानका तर्फबाट अनि राजदरबारका तर्फबाट यो खबरको पुष्टि भएको छैन । सन् १९५७ मा बेलायतबाट स्वतन्त्र भएपछि मुसलमानबहुल देश मलेसियामा कुनै सुल्तानले राजीनामा दिएको यो पहिलोपटक हो । मलेसियामा सुल्तान पद राज्यका शाही घरानाहरूमा मात्र बाँडिन्छ । हरेक पाँच वर्षमा सुल्तान पद एक शाहबाट अर्को शाहमा पुग्छ । 

 

मलेसियामा सरकार र सत्ता प्रधानमन्त्रीसँग हुन्छ तर सुल्तानको पद अत्यन्तै सम्मानजनक मानिन्छ । मलय मुसलमान समुदायमा सुल्तान र राजघरानाको ठूलो इज्जत छ र उनीहरूको आलोचना बर्जित मानिन्छ । 

 

सुल्तानले रुसी सुन्दरीलाई १८ महिनाअघि भेटेका थिए । पूर्व मिस मस्को ओकसना भोइभोदोना पेशाले मोडल र फेशन डिजाइनर हुन् । द डेली मेलमा छापिएको खबरअनुसार, सुल्तानसँग बिहे गर्नका लागि रुसी सुन्दरीले इस्लाम धर्म अपनाइसकेकी छन् । 

 

सुल्तानको बिहेको पुष्टि राजपरिवारले गरेको छैन र प्रधानमन्त्री महाथिर मोहम्मदले पनि यस विषयमा जानकारी नभएको बताएका छन् । मिडिया रिपोर्टअनुसार, ओकसनाका परिवार र साथीभाइ बिहेको बेलामा उपस्थित थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्