स्वास्थ्य मन्त्रालयमा विशिष्ठ श्रेणी बढुवाका लागि शक्ति केन्द्रमा दौडधूप



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औं तहमा बढुवाको लागि ६ जनाको प्रतिस्पर्धा चलिरहेको छ । लामो समयदेखि रिक्त रहँदै आएका ३ विशिष्ठ श्रेणीका लागि ६ जनाको प्रतिस्प्रर्धा चलेको हो ।

यो प्रतिस्पर्धामा पूर्व स्वास्थ्य सेवा विभागका महानिर्देशक रहिसकेका कोशी अस्पतालका प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागमा महानिर्देशक रहेका डा. रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयका सहसचिवद्वय डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका डा. भीमसिंह तिंकरी, वीर अस्पतालका प्रमुख डा. केदार सेन्चुरीद देखिएका छन् ।

प्रतिस्पर्धामा रहेका ६ जना अहिले स्वास्थ्य सेवा ऐन अनुसार विशिष्ठ श्रेणी १२ औं तहमा बढुवा हुन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्वसँग लविङ गरिरहेका छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशिष्ठ श्रेणी १२ औं तहका लागि आवेदन माग गर्दै सूचना निकालेको थियो ।

स्वास्थ्य मन्त्रालयमा विशिष्ठ श्रेणी १२ औं तह रिक्त रहिरहँदा मन्त्रालयले सूचना प्रकाशित गरेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएर भानुभक्त ढकाल आएपछि यो प्रक्रिया अघि बढेको हो । मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विशिष्ठ श्रेणीको पदमा सूचना प्रकाशित गर्न नेतृत्वलाई पटक–पटक आग्रह गर्दै आएका थिए ।

मन्त्रालयमा रहने दुई जना प्रमुख विशेषज्ञमध्ये एक जनाले नीति योजना तथा अनुमगन, गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने र अर्कोले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यस्तै तेस्रो व्यक्ति स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ । गत भदौमा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेरले अवकाश पाएपछि ३ वटै पद खाली भएका हुन् । यसअघि ०७४ साल मंसिरमा डा. तरुण पौडेल र फागुनमा डा. विनोदमान श्रेष्ठले अवकाश पाएपछि सो पदमा अर्को व्यक्ति बढुवा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्