‘विपद्मा पहिल्यै गम्भीर हौं’



विराटनगर : भविष्यमा आइपर्ने विपद्कोबारेमा पूर्व तयारीमा जुट्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । 

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन : प्रदेश र प्रथामिकता’ विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

 

 कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले विपद्बाट हुने जोखिमलाई विकाससँग जोडेर लैजानुपर्ने बताएका छन् । नेपालका हरेक क्षेत्र र भूगोलमा विपद्को समस्या भएकाले सबै मन्त्रालयले विपद् न्यूनीकरण र व्यवस्थापनलाई आफ्नो नीति, कार्यनीति र योजनामा समावेश गर्न आवश्यक रहेको कुरामा वक्ताहरुले जोड दिए ।  

कार्यक्रमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा प्रदेश सरकारले सुरुदेखि सोचविचार गरेर आवश्यक तयारी गरिरहेको बताए । उनले प्रदेश सरकारले यो विषयलाई बजेट र कार्यक्रममासमेत प्रथामिकताकासाथ राखेर विभागिय मन्त्रालयमार्फत काम भइरहेको स्पस्ट पारे । 

 

आजसम्मको अनुभव र अभ्यासलाई हेरेर जोखिम आउनु पूर्व नै अपनाउनुपर्ने सतर्कताको बारेमा प्रदेश सरकारको ध्यान गएको र सोहीअनुसार कार्ययोजना, संरचना, बजेट र स्रोतसाधनको व्यवस्था गरिएको छ,’ मुख्यमन्त्री राईले भने । 

 

उनले भौगोलिक अवस्थाको कारणले नेपालले धेरै खालका विपद्को सामना गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै तीन तहकै सरकारले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आफ्ना योजनाहरुमा नीति, कार्यनीति र बजेटको व्यबस्था गर्नु पर्ने कुरामा जोड दिए । 

 

‘विपद् जोखिम न्यूनीकरणमा भन्दा पनि  विपद्पछिको उद्धार र राहतमा मात्र हाम्रो ध्यान गएको छ । जसले गर्दा राष्ट्रले प्रत्येक वर्ष ठूलो जनधनको क्षति व्यहोर्नु परिरहेको छ,’ राईले भने, ‘विपद् जोखिम न्यूनीकरणमा ध्यान दिँदै पूर्व सतर्कता अपनाउने हो भने प्रत्येक वर्ष हुने जनधनको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ ।’  

 

कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पूर्वाधार निर्माण देखि मानविय आवश्यकताका काम गर्दा दीर्घकालिन् योजना बनाएर गर्न सके विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताए ।  सभामुख भण्डारीले तराईमा बाढी र पहाडमा पहिरो तथा डढेलोको प्रकोप बढी रहेकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले राज्यको भू—उपयोग नीति र विकासको गलत अभ्यासले पनि बढी विपद्हरु निम्त्याउने गरेको स्पस्ट परे । उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव केदार न्यौपानेले नेपालमा विपद् व्यवस्था वर्तमान अवस्थार आगामी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश १ मा देखिएका विभिन्न विपद्हरुको बारेमा जानकारी गराए । 

 

कार्यक्रममा प्रदेश १ नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइराला, नेकपाका उपनेता टंक आङवोहाङ्ग, सभासदहरु सर्वध्वज साँवा, विमल कार्की, नमोदिता चौधरीलगायतले चुरे क्षेत्रको बढ्दो विनाश र पहाडमा सुक्दै गएका पानीका मुहानले भविश्यमा ठूलो विपद् आईपर्ने सङ्केत गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्