धनुषामा लत्ताकपडा जम्मा हुने बैंक खुल्यो



जनकपुरधाम : गरिब तथा असहायलाई लक्षित गरी धनुषामा ‘क्लोथ बैंक’ गठन गरिएको छ । विपत् परेका बेला विभिन्न स्थान र व्यक्तिलाई आवश्यक लत्ताकपडा निःशुल्क उपलब्ध गराउन क्लोथ बैंक धनुषाको स्थापना गरिएको हो ।  

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा अधिकृत संगम धनुषाको सभाकक्षमा भएको सर्वपक्षीय बैठकले राजपा महासचिव  राजीव झाको नेतृत्वमा सात सदस्यीय बैंक गठन गरेको छ । 

बैंकका उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा पत्रकार पुरन साह र कोषाध्यक्षमा सफाइ अभियानी सुरेश शर्मालाई चयन गरिएको छ । त्यसैगरी एकजना महिला सदस्य तत्काल खाली राखिएको छ भने अन्य सदस्यमा पारस जैन र जनक राय चयन भएका छन् । प्रमुख जिल्ला अधिकारी कणेललाई बैंकको प्रमुख सल्लाहकार बनाइएको छ । 

बैंकले चिसो छल्नका लागि न्यानो कपडाका साथै जिउमा लगाइने सबै प्रकारका लुगा संकलन गर्ने र आवयश्क परेकालाई  सम्पूर्ण विवरण लिएर हस्ताक्षर गराई वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्