डेरी ह्वाइटनरको आयात रोक्न चर्को कर लिने तयारी



विराटनगर : दुग्ध विकास संस्थानले उत्पादन गरेर राखेको धुलो दूधलाई विविधीकरण गरेर बजारमा लैजाने तयारी थालेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विविधीकरणका क्रममा डेरी ह्वाइटनर केही दिनभित्रै बजारमा लैजाने तयारी गरिएको बताए । 

दुग्ध वितरण आयोजना विराटनगरमा उत्पादन थालिएको डेरी ह्वाइटनरका चार सय, पाँच सय, आठ सय र एक हजार ग्राम तौलका प्याकेजिङ्ग बजारमा पठाउने तयारी छ ।

आयोजनाले त्यसको व्यावसायिक उत्पादन गरिसकेको भए पनि औपचारिक रूपमा बिक्री भने आरम्भ गरेको छैन । डिडिसीले २५ किलोग्रामको स्किम्ड मिल्क पाउडर (एसएमपी) र होल मिल्क पाउडर (डब्ल्युएमपी) पनि नियमित बिक्री गर्ने जनाएको छ । 

अहिले उत्पादन गरेर बजारमा लैजान लागेको डेरी ह्वाइटनरमा फ्याट, एसएनएफ र चिनीको मात्रा मिलाइएको हुन्छ  । यस्तै एसएमपीमा फ्याट र एसएनएफ दुवै हुँदैन भने डब्ल्युएमपीमा घ्यूको मिश्रण गरिएको हुन्छ ।  

सरकारले भारतलगायत तेस्रो मुलुकबाट पाउडर दूधको आयात केही समयदेखि रोकेको भए पनि डेरी ह्वाइटनरको आयात भने निर्वाध रूपमा भइरहेको थियो । नेपालमा अघिल्लो वर्षमात्र डेरी ह्वाइटनर आयात गर्दा ५० करोड रुपैयाँ विदेशिएको दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेले जानकारी दिए ।

‘डेरी ह्वाइटनर उत्पादन गरेर बजारमा लैजानेबित्तिकै भारतबाट ५० प्रतिशत आयात तत्काल कटौती हुन्छ भन्ने विश्वास छ,’ निमित्त महानिर्देशक न्यौपानेले भने, ‘अब नेपालमै गुणस्तरीय डेरी ह्वाइटनर सस्तो मूल्यमा उपलब्ध हुन्छ ।’

डिडिसीले उत्पादन गरेको डेरी ह्वाइटनर अहिले भारतबाट आयातित ब्रान्डभन्दा सस्तो हुनेछ । डिडिसीले ४ सय ग्राम तौलको उक्त प्रोडक्ट अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा ३५ रुपैयाँ सस्तोमा बजारमा लैजाँदैछ भने ८ सय ग्रामको प्याकेजिङ्ग ६० रुपैयाँ सस्तोमा बिक्री गर्ने तयारी छ ।

यसले भारतबाट आयात हुने ठूलो परिमाणको डेरी ह्वाइटनर प्रतिस्थापन गर्ने र आन्तरिक उत्पादन तथा बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने न्यौपानेले बताए । 

विराटनगरमा सुरु भएको नयाँ प्लान्टबाट दैनिक ३ हजार किलोग्राम डेरी ह्वाइटनर उत्पादन हुनेछ । बजार विस्तारसँगै क्षमता पनि वृद्धि गर्न सकिने बताइएको छ । 

नयाँ उत्पादनसँगै पूर्वी नेपालमा मिल्क होलिडेको अवस्था केही वर्षका लागि कम हुने भएको छ । डेरी ह्वाइटनरलाई सफलतापूर्वक बजारमा लैजान सके वर्षको थप ५२ लाख लिटर दुधको सहज व्यवस्थापन हुने र त्यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने मन्त्री खनालले बताए ।

उनले भने, ‘नेपालमा उत्पादन थालिएको डेरी ह्वाइटनरले भारतको उत्पादनसँग सहज रूपमा प्रतिस्पर्धा गर्छ, गुणस्तर र मूल्य दुवै प्रतिस्पर्धामा अगाडि भएपछि त्यसमा चिन्ता गरिरहन पर्दैन तर गुणस्तरलाई कायम राख्न भने सदैव मिहिनेत जरुरी छ ।’ 

मन्त्री खनालले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन तथा दूध उत्पानलाई थप प्रोत्साहन गर्न आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए । ‘हाम्रो पाउडर नबिक्ने तर विदेशबाट अरबौंको पाउडर आउने अवस्थालाई मैले त्यतिकै रोकेको होइन, अब डेरी ह्वाइटनरको आयातलाई पनि नियन्त्रण गरिनेछ ।’

उनले पाउडर दूध र डेरी ह्वाइटनरको भन्सार महसुल वृद्धि गर्न अर्थ मन्त्रालयलाई आग्रह गरिने पनि जानकारी दिए । उनले स्वदेशी उत्पादनका वस्तुलाई बजारमा प्रसार गर्न पनि विदेशवाट आउने त्यही वस्तुको आयातमा कडाइ गर्नु आवश्यक रहेको तर आफूसँग नभएको वस्तु आयातमा भने उदार नै हुनुपर्ने बताए । 

पछिल्लो समय विराटनगर आयोजनाले गुणस्तर तथा आन्तरिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको भन्दै मन्त्री खनालले प्रशंसा गरे । उनले जनतामा आफ्नो उत्पादनलाई विश्वासिलो बनाउँदै प्रस्तुत गर्नका लागि थप मिहिनेत गर्न कर्मचारीलाई आग्रह गरे ।  

त्यसक्रममा मन्त्री खनालले आयोजनाका सबै उत्पादन प्लान्टको अनुगमन तथा निरीक्षण गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्