विराटनगर : मोरङको जहदा गाउँपालिका– १ धुनीबस्तीका नन्दकिशोर सरबरियालाई पक्की घर बनाउने रहर जाग्यो । आफूले थोरै लगानी लगाउँदा बाँकी खर्च सरकारले बेहोरेर पक्की घर बनाइदिने सुन्दर सपना देखाएपछि फुसको घरमा बस्दै आएका उनी ऋण खोज्नतिर लागे ।
आफूसँग पैसा नभएपछि ऋण लिएर उनले गाउँका अगुवा मानिएका दिलबहादुर गुरुङलाई ४० हजार रुपैयाँ थमाए । ‘विराटनगर महानगरपालिका १८ मा सरकारकाले जनता आवासअन्तर्गत घर बनाइरहेको मैले देखे,’ उनले भने, ‘केही पैसा बुझाएपछि पक्की घर बन्ने स्थानीय अगुवाका रूपमा मानिएका दिलबहादुर गुरुङले यस बस्तीका ३३ घर परिवारलाई सुनाएपछि हामीले पनि पक्की घरमा बस्न पाउने आशा पलाएपछि ऋण खोजेर गाउँका अगुवा गुरुङलाई पैसा थमायौं ।’
गुरुङलाई गाउँले पैसा बुझाएको एक वर्ष पूरा भयो । गाउँकै गन्नेमान्ने गुरुङले पक्की घरको सपना देखाएपछि यस बस्तीका सुकुमवासीले ऋण गरेर कसैले ४० त कसैले ४२ हजार रुपैयाँसम्म गुरुङलाई बुझाए । पैसा बुझाएको एक वर्ष बितिसक्दा पनि घर बनाउने कुनै छाँटकाँट नदेखिएपछि गुरुङले ठगी गरेको अहिले आएर थाहा पाएको पीडितको भनाइ छ ।
सरकारको लगानीमा घर निर्माण हुने र पक्की घरमा बस्न पाइने भन्दै गाउँकै अगुवाले देखाएको झुटो प्रलोभनमा पर्दा दक्षिणी सीमावर्ती गाउँ जहदाका नन्दकिशोरमात्र गुरुङबाट ठगिएका एक्ला व्यक्ति भने होइनन्, त्यहाँका ३३ घरपरिवार ठगिएका छन् । गुरुङ ३३ घर परिवारको ४० हजार प्रतिघर १३ लाख ३२ हजार रुपैयाँ लिएर फरार भएको बताइएको छ ।
‘एक दिन अर्काको घरमा गएर बनिबुतो गरिनँ भने मुखमा माडसमेत हाल्न पाइँदैन,’ ठगिएकी अर्की पीडित राधादेवी कामतले भनिन्, ‘ऋण खोजेर पक्की घरमा बस्ने सुन्दर सपना देखाएपछि विश्वास गरेर ४० हजार रुपैयाँ बुझाएँ ।’
पैसा बुझाएपछि घर बन्न सुरु हुने आसमा थिए गाउँलेहरू । तर, घर अझै बनेनन् । ‘पैसा बुझाएको केही समयमै गुरुङ बेपत्ता भएपछि ठगिएको थाहा पाएँ,’ कामतले भनिन् ।
जनता आवासअन्तर्गत मोरङका विभिन्न स्थानमा घर निर्माणको काम चलिरहेको छ । विराटनगर–१८ स्थित फँडानी टोलमा रहेको ऋषिदेव बस्तीमा पनि जनता आवासअन्तर्गत घर निर्माणको काम भइरहेको छ ।
छेउछाउका गाउँमा घर निर्माण हुन थोलेपछि त्यस्तै घरको अपेक्षा गर्ने जहदा–१ धुनीबस्तीका ३३ परिवार ठगिएका हुन् । गुरुङलाई पैसा बुझाएको एक वर्ष बिते पनि घर नबनेपछि उनीहरूले आफू ठगिएको सार्वजनिक गरेका हुन् ।
गुरुङले ठगी गरेको पत्तो पाएपछि पीडितहरूले स्थानीय जनप्रतिनिधि गुहारेका थिए । जनप्रतिनिधिको रोहबरमा गुरुङले पैसा फिर्ता दिने प्रतिबद्धता जनाएको भए पनि उनले अझै रकम फिर्ता नगरेको स्थानीयले बताए ।
जहदा गाउँपालिका प्रमुख कैलाशप्रसाद मण्डलले गाउँपालिकामा कुनै पनि प्रकारको जनता आवास कार्यक्रम सुरु नभएको बताए । ‘अहिलेसम्म हाम्रो गाउँपालिकामा जनता आवास कार्यक्रम भएको छैन,’ उनले भने, ‘१ नम्बर वडाका विषयमा मलाई केही थाहा छैन ।’
जहदा–१ का वडाध्यक्ष प्रदीपचन्द यादवले गुरुङलाई आफ्नो कार्यालयमा झिकाएर पैसा बुझाउने कबुल गराएको बताए । ‘एक साताअघि ठगिएको भन्दै ३३ घरपरिवार मेरो कार्यालयमा आएका थिए,’ उनले भने, ‘पीडित र गुरुङलाई राखी कागज गराएको छु ।’ पुस महिनाभित्र पैसा दिने सहमति भएको उनले बताए । अहिले आफ्नो सम्पर्कमा गुरुङ नरहेको उनले बताए ।