मेसीको ३९९ गोल



काठमाडौं: स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ भने चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडले घरेलु मैदानमा नमीठो पराजय भोगेको छ ।

 

बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २-१ गोलले हरायो भने जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियल घरेलु मैदानमै रियल सोसिएडाडसँग २-० गोलले स्तब्ध बन्यो ।

 

बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको २०औं मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरे ।

 

ला लिगामा मेसीले गरेको यो तीन सय ९९औं गोल हो। ३९औं मिनेटमा स्वारेजले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि जाइम माटाले गेटाफेका लागि एक गोल फर्काएका थिए ।

 

ला लिगाको रेलिगेसन क्षेत्रमा रहेको एथलेटिक बिल्बाओ र सेल्टा भिगोबाहेक सबै टोलीले १८-१८ खेल खेलिसकेका छन् । ४० अंकसहित बार्सिलोना तालिकाको पहिलो स्थानमा छ।

 

बार्सिलोनासँग पाँच अंकले पछाडि परेको एट्लेटिको म्याड्रिडको ३५ अंक छ । ३३ अंकसहित सेभिल तेस्रो, ३१ अंकसहित आल्भेस चौथो र ३० अंकसहित रियल म्याड्रिड पाँचौं स्थानमा रहेको खबर अन्नपूर्णमा छ।

प्रतिक्रिया दिनुहोस्