चालककै कारण दुुर्घटना बढ्दो



पाल्पा : जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन् । ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ । चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन् ।

चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन् । सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ ।

प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिपर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो । चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गनुपर्ने नियम र कर्तव्यसम्बन्धी दश हजार ७०० लाई सचेत बनाउने काम गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ । करिब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए। चालू आर्थिक वर्षको पाँच महिनामा मात्र करिब रु ५० लाख राजश्व सङ्कलन भएको काफ्लेले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटना कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताए। उनले सवारीसाधन चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताए।

चालू आवमा छ महिनाको अवधिमा जिल्लामा १५ को सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन् । दुर्घटनाबाट ७१ गम्भीर घाइते अवस्थामा छन् । सामान्य घाइतेको अवस्था झण्डै १८१ छ । – रासस

प्रतिक्रिया दिनुहोस्