भू–मध्य सागरको वायुले वर्षा र हिमपात



काठमाडौं: भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात शुरु भएको छ । आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको छ ।

 

सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ । भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए ।

 

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने बताउँदै उनले भने–‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ ।’ बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले बताए । मुलुकका अन्यको तुलनामा डडेल्धुरामा धेरै वर्षा भएको छ, त्यहाँ ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

 

महाशाखाले सोमबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार नेपालगञ्जमा ६ दशमलव १ मिलिमिटर वर्षा भएको छ भने जुम्लामा ५ दशमलव ६, दाङमा ५ दशमलव ५ र वीरेन्द्रनगरमा १ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । त्यसै गरी काठमाडौंमा शून्य दशमलव ६ मिलिमिटर, दिपायल, धनगढी, सिमरा, जोमसोम, भैरहवा, पोखरालगायतका भेगमा छिटफुट वर्षा भएको महाशाखाले जनाएको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्