लोपोन्मुख ‘बड्का नाच’ संरक्षण हुँदै



रुपन्देही : रुपन्देहीमा थारु समुदायको लोपोन्मुख संस्कृतिको रुपमा रहेको ‘बड्का नाच’को संरक्षण गर्न थालिएको छ । जिल्लाको सैनामैना नगरपालिका–११ विचवापुरमा मात्रै रहेको सो लोपोन्मुख नाच यही पुस २४ गतेदेखि तीन दिनसम्म हुने माघी खिचडी महोत्सवमा प्रदर्शन गर्न लागिएको थारु अगुवा तथा थारु कल्याकारी सभाका केन्द्रीय पार्षद खुशीराम चौधरीले जानकारी दिए ।

“थारु युवायुवती दुलाहादुलही झैँ सिङ्गारिएर सामूहिक रूपमा नाच्ने संस्कृतिलाई हामीले संरक्षण गर्न आवश्यक छ” उनले भने । उक्त नाच प्रदर्शन गर्ने उनीहरुले महेरहवा माइदेवीको आर्शिवाद पाएका हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । सो मन्दिरमा अहिले पनि इच्छाधारी नाग र नागिनको थारु समुदायले पूजाआजा गर्ने गरेको बताइएको छ ।

रुपन्देहीको विचवापुर महेरहवा माई र बाबाको राजधानी भएको समेत थारु समुदायको धार्मिक विश्वास छ । थारु अगुवा चौधरीका अनुसार ४० वर्षपछि ‘बड्का नाच’को संरक्षण गर्ने प्रयासको थालनी भएको छ ।

थारु संस्कृतिको रूपमा रहेको ‘घोङी रेश’ प्रतियोगिता पनि माघी महोत्सवमा प्रदर्शन हुनेछ । यसलाई खासगरी थारु महिला समुदायलाई मनोरञ्जन गराउने खेलको रूपमा लिइएको छ । एउटा भाँडोमा घोङी राखिन्छ र उक्त घोङी जसले बढी खान सक्छ त्यसलाई प्रथम घोषणा गरिने बताइएको छ ।

थारु अगुवा चौधरीले थारुको मूर्त, अमूर्त संस्कार र संस्कृतिको संरक्षण र पुराना खानपिन, वेशभूषाको जगेर्ना आवश्यक भएको उल्लेख गर्दै थारु समुदायलाई माघी महोत्सवले चेतनशील र व्यावसायिक बनाउन मद्दत मिल्ने बताए ।

माघी महोत्सवमा झुमडा, थारु भाषिक तथा लोक नृत्य, थारु साहित्यलगायतको प्रदर्शन हुने थारु कल्याणकारीसभा सैनामैनाका सभापति डुलबहादुर चौधरीले जानकारी दिए । स्थानीय थारु महिला नेतृ कमला चौधरीले थारु समुदायको संस्कृति संरक्षणले थारु समुदायमा जागरुकता ल्याउने उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्