समर लभमा ‘न्युड सिन’बारे अभिनेत्री रेवतीको स्पष्टीकरण



काठमाडौं: सुविन भट्टराईको उपन्यास ‘समर लभ’लाई २५ माघबाट फिल्मी पर्दामा हेर्न पाइने भएको छ । उपन्यासकी मुख्य पात्र सायाको भूमिका भारतीय मोडल एवं अभिनेत्री रेवती क्षत्रीले निर्वाह गरेकी छन् ।

 

उपन्यासको एउटा दृश्यमा साया निर्वस्त्र भएको उल्लेख छ । त्यो दृश्यलाई अभिनेत्री रेवतीले सहजै रूपमा फिल्ममा निर्वाह गरेकी छन् । फिल्म समर लभको गीत हालै रिलिज गरिएको थियो । सो गीतको एउटा दृश्यमा रेवतीलाई सायाका रूपमा निर्वस्त्र देखाइएको छ । केही समययता यस दृश्यले निकै चर्चा पाएको छ ।

 

भारतको सिलगुढीमा बस्दै आएकी नेपाली भाषी रेवती क्षत्री सोमबार काठमाडौंमा आयोजित समर लभको ट्रेलर रिलिज समारोहमा प्रस्तुत भइन् । उनी यो फिल्मको स्वरांकनलगायतको काम सम्पन्न गर्न नेपाल आएकी हुन् ।

 

फिल्ममा यसरी पूर्ण नग्न दृश्य दिनुको कारणबारे सञ्चारकर्मीसँगको जिज्ञासामा सोमबार ट्रेलर रिलिज समारोहमा भनिन्, ‘बाथरुममा नुहाउँदा मानिसहरू कपडा लगाएर नुहाउँदैनन् । त्यो पनि मैले नुहाएको दृश्य भएकाले यहाँहरूले कपडा नलगाएको देख्नु स्वाभाविकै हो ।’

 

महिलाहरूले यस्तो दृश्य दिँदा टीकाटिप्पणी गर्ने तर समाजले पुरुषले छाती खोलेर हिँड्दा कुनै टिप्पणी नगर्ने बताइन् । ‘पुरुषहरू नाङ्गिँदा केही नभन्ने तर महिलाले फिल्मको कथाअनुसार यस्तो दृश्य दिँदा किन आपत्ति जनाउनुप¥यो,’ उनले् भनिन् । फिल्ममा प्रस्ताव आएपछि समर लभलाई युट्युबमा सुनेको र त्यो सुन्ने क्रममा नै कथामा भएको यस्तो दृश्य आफूले दिन सक्छु भनेर तयारी गरेको पनि उनले बताइन् ।

 

समर लभ हेर्दा दर्शकलाई आफूले नग्न दृश्य दिएको महसुस नहुने रेवतीले बताइन् । उनले फिल्म हेरेपछि त्यो दृश्य दर्शकलाई सहज लाग्ने बताइन् । यो दृश्यलाई विवादमा ल्याउन आवश्यक नभएको पनि उनले बताएकी छन् ।

 

रेवती नवोदित अभिनेत्री भए पनि उनले बलिउडमा काम गरिसकेकी छन् । उनी भारतमा चर्चामा रहेकी मोडल पनि हुन् । सन् २०१६ को मिस इन्टरनेसनल इन्डियाको उपाधि जितेकी उनले सोही वर्ष मिस एसिया–वल्र्ड २०१६ को ताज पनि जितेकी थिइन् ।

 

उनले भारतीय फिल्म ग्याङ्ग्स अफ नर्थ इस्ट र खातुनमा अभिनय गरिसकेकी छन् । पाठकमाझ उपन्यास समर लभ लोकप्रिय भएको र समर लभमाथि बनेको फिल्ममा आफू नायिका भएकाले आफ्नो काम दर्शकले रुचाउने विश्वास उनको छ । आफूले उपन्यासको साया पात्रलाई समर लभमा पूर्ण रूपमा उतार्न कुनै कोसिस बाँकी नराखेको रेवतीले बताएकी छन् ।

 

नेपाली मोडल आशिष पिया समर लभमा नायक छन् । अभिनेता आशिषको नायिकाको भूमिकामा रेवती छन् । फिल्ममा नम्रता सापकोटा पनि मुख्य भूमिकामा छिन् । मुस्कान ढकाल निर्देशित समर लभको सोमबार काठमाडौंमा ट्रेलर रिलिज गरिएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्