अत्यावश्यक सेवा दिने मालपोत कार्यालय भ्रष्टाचारको ‘अड्डा’



काठमाडौं : पछिल्ला दिनमा मालपोतमा ठूल्ठुला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन् । मालपोतमा अनेक किसिमका अवैध काम हुने गरेका छन् । अत्यावश्यक सेवा दिने यो कार्यालय भ्रष्टाचारको ‘अड्डा’ बनेको छ ।

 

मालपोतमा सर्वसाधारण जनताको पँहुच छैन । बिचौलियाबिना काम गर्न सकिन्न । सेवाग्राही कार्यालयमा पस्दानपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएर मात्रै सार्वसाधारणले सेवा पाउँछन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १ बाट देशभरका मालपोतमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेकी थिइन् । तर, त्यो सफल हुन सकेको छैन ।

 

माफिया र कर्मचारीको मिलोमतोमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, अर्काको जग्गा किर्ते गरी नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठ,मन्दिर, विद्यालय, वनजंगलको जग्गा व्यक्तिको नाममा सार्नेलगायतका अनियमितता भएका छन् । गुठी जग्गा रैकरमा परिणत गरी हिनामिना गरिएका थुप्रै घटना सार्वजनिक भएका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा भ्रष्ट सरकारी कार्यालय हो मालपोत । मालपोत र नापीमा हुने काममा ६५.५ प्रतिशत भ्रष्टाचार हुने गर्छ ।

 

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मालपोत र नापी कार्यालयमा कारवाही गरे कर्मचारी शून्य हुने अभिव्यक्ति दिँदै आएका छन् । अख्तियारले पछिल्ला दिनमा स्टङ अपरेसन मालपोत केन्द्रित भएको छ । जताततै कर्मचारी घुससहित समातिइरहेका छन् । चाबहिल, डिल्लीबजार र झापा मालपोत कार्यालयका पूरै कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ ।

 

सरकारले जग्गा कित्ताकाट रोकेको छ । तर, मालपोत कर्मचारी र माफियाको मिलोमतोमा एउटै जग्गा १४ पटकसम्म कित्ताकाट भएको घटना राष्ट्रिय सर्तकर्ता केन्द्रले बाहिर ल्याएको छ । मालपोत कार्यालय कंलकी र ललितपुरमा गरिएको छानबिनपछि त्यस्तो घटना सार्वजनिक भएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्