चितवन : चारैतिर निकुञ्ज र मध्यवर्ती वन क्षेत्रले घेरिएको माडीका बासिन्दाले वन्यजन्तुको मार सहे पनि पर्यटकीय लाभ भने लिन पाएका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि माडी ओझेलमा परेको छ ।
निकुञ्जमा हरेक वर्ष दुई लाख हाराहारीमा पर्यटक भित्रिने गरे पनि माडी क्षेत्रमा भने ती पर्यटक पुग्न सकेका छैनन् । सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा पर्ने माडी धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको क्षेत्र हो ।
माडीको पूर्वी क्षेत्रमा ठोरी गाउँपालिकाको मध्यवर्ती वन, पश्चिममा भारतीय सीमामा जोडिएको वन, उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा चुरे पहाड र भारतीय सीमा क्षेत्र पर्छ ।
यी सबै क्षेत्र वन्यजन्तु आवतजावत गर्ने महत्वपूर्ण क्षेत्र हुन् । यसकै कारण माडीवासीले वर्षभरि त्रासमा जीवन बिताउनुपरेको छ । बर्सेनि दर्जनौं व्यक्ति वन्यजन्तुबाट मारिन्छन् भने सयौं घाइते हुने गरेका छन् । खेतीबाली जोगाउन माडीवासीलाई धौधौ हुन्छ ।
तर, यिनै वन्यजन्तु देखाएर आर्जन हुने आम्दानी यहाँका बासिन्दाले पाउन सकेका छैनन् । निकुञ्जसँगै सोमेश्वर, सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक, पाण्डवनगर, वैकुण्ठेश्वर धाम एवं महादेव मन्दिर, सीता गुफा, विक्रमबाबा जस्ता महत्वपूर्ण धार्मिकस्थल माडी क्षेत्रमा रहेका छन् ।
धार्मिक दृष्टिले माडीमा रहेका सबै क्षेत्र उत्ति नै महत्वपूर्ण रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउँछन् । साविकका गर्दी, बघौडा, कल्याणपुर र वसन्तपुर गाविसलाई मिलाएर बनेको माडी नगरपालिकाको जनसंख्या ४३ हजार रहेको छ ।
बघौडा र गर्दीमा आधा जनसंख्या आदिवासीको रहेको छ । अन्य दुई गाविसका बासिन्दाले २०१८ सालमा पुँर्जी प्राप्त गरी बसोबास गरेका हुन् । थारु, गुरुङ, मगरलगायतको बसोबास रहेकाले पर्यटकीय सम्भावना अत्याधिक छ ।
हालसम्म माडी क्षेत्रबाट जीप र हात्ती सफारी जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुन सकेको छैन । वनकट्टा क्षेत्रबाट १।५ किलोमिटर दूरीमा सुकीभार क्षेत्र छ । सो क्षेत्र एकसिंगे गैंडाको अधिक बासस्थान भएको क्षेत्र हो । सो क्षेत्रमा हात्तीसफारीको व्यवस्था गर्न लागेको नगर प्रमुख ढकाल बताउँछन् ।
भारतीय सीमा क्षेत्रमा रहेको सोमेश्वर गढीमा गोलपार्क निर्माण गरी दुवै देशको झण्डा राखेर पर्यटकीय स्थल बनाउन विस्तृत अध्ययन भइरहेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई समेत सो क्षेत्रको भ्रमण गराई पार्क निर्माण गर्ने तयारीमा रहेको ढकालले बताए ।
त्यसैगरी बैकुण्ठेश्वर धाममा प्रदेश सरकारको लगानीमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी विकास गर्ने प्रक्रिया अघि बढाइएको छ । हरेक वर्ष बाला चतुर्दर्शीमा यहाँ ठूलो मेला लाग्छ । उक्त क्षेत्रमा मन्दिर र झरना रहेका छन् । उद्यान निर्माण गरी व्यवस्थित गरिने ढकालले बताए ।
सशस्त्र द्वन्द्वमा ३८ जनाको ज्यान गएको बाँदरमुढेमा युद्धकालीन पार्क निर्माण गरिँदै छ । प्रमुख ढकालकाअनुसार पार्क निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भएको छ । रु आठ करोडको लागतमा पार्क निर्माण गर्ने तयारी भइरहेको छ ।
पर्यटकीय होटल निर्माण गर्न ऋणदेखि कर छुटको व्यवस्था नगरपालिकाले गरेको छ । पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले माडीको शिवद्वार र पाण्डवनगरमा रहेका होमस्टेले पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको बताए । बघौडामा घरबास बन्दै छ । पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताए ।
भरतपुरबाट निकुञ्ज हुँदै माडी जानुपर्ने बाध्यता छ । जहाँ चौबीसै घण्टा यातायातको पहुँच छैन । निकुञ्ज क्षेत्रमा रातिको समयमा यातायात सञ्चालन गर्न नपाउँदा सो क्षेत्रमा पर्यटक आवागमनमा बाधा पुगेको छ ।
यसै क्षेत्रबाट निर्वाचित सांसद एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकुञ्ज क्षेत्रमा आकाशे पुल निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । हालसम्म उक्त कार्यले गति लिन भने सकेको छैन । निकुञ्जमा ओभरफ्लाई निर्माण गर्न सक्ने हो भने माडीको विकासमा कोशेढुङ्गा सावित हुने माडीवासी बताउँछन् । यसले पर्यटकीय गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदी पर्यटन विकासका लागि आवश्यक आकर्षक सम्पदा हुँदा हुँदै माडी क्षेत्र सरकारको प्राथमिकतामा नपरेको बताउँछन् । आन्तरिक पर्यटकलाई प्राथमिकता दिई होमस्टे तथा सामुदायिक गेष्ट हाउसबाट आवास व्यवस्था गर्दै ठूला होटल स्थापना गर्नुपर्ने उनको सुझाव छ ।
माडीको भौगोलिक अवस्थाअनुरुप यसको महत्व धार्मिक स्थल, वन, वन्यजन्तु एवं जनसमुदायसँग गासिएको छ । यहाँको ऐतिहासिक, धार्मिक स्थल तथा प्राकृतिक उपहारलाई अवसरको रुपमा सदुपयोग गर्दै प्रभावकारी योजना तर्जुमा गर्नुपर्ने उनले बताए ।
मध्यवर्ती क्षेत्रमा औद्योगिक विकास गर्न नसकिने हुँदा वन्यजन्तुको जोखिमलाई व्यवस्थापन गरी पर्यटन उद्योगको विकास गर्न सकिन्छ । राज्यले भौतिक पूर्वाधार विकास तथा लगानीमैत्री नीति तर्जुमा गर्नुपर्ने, नीजि क्षेत्रले नेतृत्व र लगानी गर्नुपर्ने, स्थानीय बासिन्दा पर्यटनमैत्री भएमा संरक्षणमा आधारित पर्यटन विकासबाट पर्यटनको प्रतिफल स्थानीयवासीमा पु¥याएर माडी क्षेत्रले आर्थिक समृृद्धि प्राप्त गर्न सकिने सुवेदीको ठहर छ ।