राजपा नेता यादवमाथि ५ अर्ब ठगेको बात



काठमाडौं : सर्लाहीका श्याम परदेशीले सयौंलाई चर्को व्याज लगाई ठगी गरेको घटना किनारा नलाग्दै सर्लाहीमै अर्को मिटर ब्याज काण्ड मच्चिएको छ । घरजग्गाको कारेबार गर्दै आएका राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल का केन्द्रीय सदस्य रामबाबु यादव र संजय शाह रौनियारले सर्लाहीका सयौं व्यक्तिलाई ठगी गरेको भन्दै ३५ जनाको टोली प्रतिनिधमण्डलका रुपमा सर्लाहीबाट काठमाडौं आएको छ ।

सर्लाहीबाट काठमाडौं आाएका सर्लाहीका मिटर ब्याज पीडितको समूहले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) देखि नेता माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई भेटेर गुनासो गरेका छन् । उनीहरुका साथै गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेनद्र खनाललाई संयुक्त रुपमा भेटेर आफ्नो पीडा सुनाउदै कारबाहीको माग गरेका छन् । भेटमा अध्यक्ष प्रचण्डले यसमा सबै मिलेर पीडितहरुलाई न्याय दिलाउन लाग्ने प्रतिबद्धता जनाएका छन् ।

हिजो (मंगलबार) पीडितहरुले नेकपाका नेता तथा प्रहरी प्रमुखलाई भेटेर करिब २ सय गरिब तथा विपन्न परिवारलाई ऋण दिदै चर्को ब्याजमा लगाएर करिब ५ अर्ब रकम ठगी गरेको गुनासो गरेका छन् । पीडितहरुले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज (मिटर ब्याज) लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ ।

पीडितहरूले विभिन्न समयमा यादव र रौनियारसँग ऋण लिएर तिरेको तर पीडकले नतिरेको देखाई थप रकम असुलेको आरोप लगाएका छन् । यसैगरी, थोरै ऋण दिएर उनीहरूले करकाप तथा जालझेल गरी महँगो मूल्यको जग्गा पास गराउन दबाब दिएको उनीहरूले बताएका छन् । उनीहरूले ऋण समयमै तिर्न नसक्दा १०औं गुणा बढी मूल्य पर्ने जग्गासमेत यादव र रौनियारले आफ्नो नाममा गराएको आरोप लगाएका छन् ।

पीडितहरूले गृह मन्त्रालय आउनुअघि स्थानीय प्रशासनमा समेत घटनाबारे जानकारी गराउँदा स्थानीय प्रशासनबाट सुनुवाइ नभएपछि आफूहरूले माथिल्लो निकायलाई गुहार्नुपरेको बताएका छन् ।

ठगीको आरोप लागेका राजपाका केन्द्रीय सदस्य यादवमाथि गृह मन्त्रालयले छानबिन सुरु गरेको छ । सर्लाही मलंगवा–१ का यादव र सोनबर्साका रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरू गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन सुरु गरेको गृहमन्त्रीको राजनीतिक सल्लाहाकार सूर्य पथिकले जानकारी दिएका छन् ।

मिटर ब्याजबाट गाउँले नै ठग्ने यसअघि पक्राउ परेका श्याम परदेशीले भन्दा पनि बढी राय र साहले ठगेको उनीहरूको आरोप छ । पीडितहरूको नेतृत्व गरेर काठमाडौं आएका नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेले श्याम परदेशीहरूले भन्दा पनि बढी ठगी गरेको पीडितहरूले बताएपछि नेतृत्वसँग भेट गराउन आफूले संयोजन गरेको बताए ।

राजपा केन्द्रीय सदस्य यादवले राजनीतिक चरित्र हत्या गर्न आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्