तेस्रो बुम महिला बास्केटबल: साइपाल र समृद्धिको दोस्रो जित



काठमाडौं: डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी र समृद्धि गोरिल्लाजले तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा दोस्रो जित हात पारेका छन् ।

 

उपाधि दाबेदार साइपालले सोमबार भएको खेलमा आयोजक विशाल मिलन केन्द्र (बीएमके) लाई ३८–७ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्न सफल भएको हो ।

 

साइपालको जितमा रोशनी श्रेष्ठले ११ अंक योगदान गरिन् । पहिलो क्वार्टरमा ७–३ को अग्रता लिएको साइपालले बाँकी क्वार्टरमा पनि अग्रता कायम ग¥यो । साइपालले दोस्रोमा ९–३, तेस्रोमा ९–१ र चौथोमा १३–० को अग्रता लिएको थियो ।

 

दुई खेलमा साइपालको लगातार जित हो । प्रतियोगितामा साइपाल एक्लो अपराजित टिम हो । आफ्नो पहिलो खेलमा साइपालले समृद्धिलाई पन्छाएको थियो ।

 

अर्को लिग खेलमा सोनी वाइबा र मुना महर्जनको समान १२–१२ अंक सहयोगमा समृद्धिले काठमाडौं नर्थ पोल क्लबलाई ४०–२८ ले पराजित ग¥यो । तीन खेल खेलिसकेको समृद्धि यसअघि साइपालसँग पराजित भएको थियो ।

 

आयोजक बीएमकेलाई पहिलो खेलमा हराएको थियो । दुई खेलमा नर्थ पोलको पहिलो पराजय हो । पहिलो खेलमा नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई पराजित गरेको थियो । मंगलबार आयोजक एनसीसीएस र समृद्धि तथा साइपाल र नर्थ पोलबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्