६ महिनामा ५ हजार दुर्घटना, ११ सयको मृत्यु



हेटौँडा: चालू आर्थिक वर्षमा देशभर ५ हजार ४०५ सवारी दुर्घटना हुँदा १ हजार १७६ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीका अनुसार दुर्घटनाबाट २ सय ९९ गम्भीर र ३ सय ९६ जना सामान्य घाइते भएका छन् ।

 

मोटरसाइकल दुर्घटना सबैभन्दा धेरै भएका छन् भने त्यसपछि क्रमशः ट्रक, बस, टिपर र ट्याक्टर दुर्घटनामा परेका छन् । उनका अनुसार मध्याह्न १२ देखि साँझ ६ बजेसम्म सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ । एक अध्ययनअनुसार नेपालमा दैनिक सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु हुने गरेको उनले बताए ।

 

न्यूनीकरण अभियान  परिणाममा देखिएन

दुर्घटना न्यूनीकरणका धेरै प्रयास भए पनि परिणाममा भने नदेखिएको सरोकारवालाले बताएका छन् । ट्राफिक प्रहरी, सवारीधनी, सवारीचालकको संयुक्त छलफलमा उनीहरूले न्यूनीकरणका प्रयासहरू बालुवामा पानी हालेसरह भइरहेको बताएका छन् । पञ्च सिद्धि फाउन्डेसनले सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख जोशीले दुर्घटनाका कारणबारे प्रस्ट पारे ।

 

जोशीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, तीव्रगति, मापसे, क्षमताभन्दा बढी लोड, बाटोमा पशु चौपाया, यात्रुको लापरबाही, ट्राफिक नियम उल्लंघन भएको बताए । उनले ट्राफिक प्रहरीले देशभर दुर्घटना न्यूनीकरणका लागि जनचेतना, यान्त्रिक परीक्षा, चालकलाई प्रशिक्षण, बाटोमै रोकेर चालकसँग संवाद, लाइसेन्स खारेजलगायत धेरै प्रयास गरेको उनले बताए । ‘हामीले दुर्घटना न्यूनीकरणका लागि धेरै प्रयास अघि बढाएका छौँ,’ उनले भने, ‘हाम्रो प्रयासले मात्र केही हुँदैन, मानिसलाई मृत्युबाट बचाउन सबैले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।’

 

प्रदेश ३ मा मात्रै २२५ को मृत्यु

प्रदेश ३ प्रहरी कार्यालयका प्रमुख डिआइजी दीपक थापाले चालक, सडक र आचरणका कारण दुर्घटना बढेको बताए । उनले प्रदेश ३ मा दुर्घटना बढिरहेको जानकारी गराउँदै सवारीसाधन वृद्धि भइरहँदा बाटो विस्तार नहुनु दुर्घटना न्यूनीकरणको प्रयासमा बाधक बनेको दाबी गरेका नयाँ पत्रिकामा खवर छ ।

 

थापाले प्रदेश ३ मा चालू आर्थिक वर्षको हालसम्म २ सय २५ जनाले ज्यान गुमाएको जानकारी दिए । प्रतिनिधिसभा सांसद विरोध खतिवडाले लापरबाहीबाट हुने दुर्घटना तत्काल रोक्न सकिने बताए । उनले दुर्घटना न्यूनीकरण प्रयासका लागि तत्काल सुधार गर्नुपर्ने क्षेत्रबाट काम थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्