यस्तो छ,डिभोर्स गरेका निलम र रामकृष्ण्को रामकहानी



काठमाडौं : गायक रामकृष्ण ढकालले गाएका माया प्रेमका गीतले धेरैको जीवनमा मेला खाए होलान् । उनका मर्मस्पर्शी गीतहरु अहिले पनि उत्तिकै घन्किने गरेका छन् । सामान्य किसान परिवारका जन्मिएका ढकालले १० वर्षको उमेरमा ‘गाजलु ती ठूलाठूला आँखा’ गाएर सांगितिक यात्रा सुरु गरेका हुन् ।

सार्वजनिक यातायातदेखि सडकमै गीत गाउँदै धेरैको मन जित्न सफल ढकालको जीवन संघर्षमय रह्यो । यही संघर्षले गर्दा उनी अहिलेको अवस्थामा बहुचर्चित गायकको रुपमा स्थापित र प्रतिष्ठित बन्न सफल भए ।

ढकाल गायन यात्राको जीवनकै उच्चबिन्दुमा थिए । उनको ‘आधार’ एल्बम निस्किएर हिट भइरहेको थियो। यही बेला ढकालले एक विज्ञापनमा नीलम शाहको तस्बिर देखेपछि उनलाई खोज्दै कलेजसम्म पुगे । दुवैबीच फोन वार्ता हुन थाल्यो । फोनमा कुरा गर्दागर्दै भेटघाट सुरु भयो । दुवैको मनमा प्रेम पलायो।

ढकालले शाहको बुबालाई फोन गरेर शाहसँग विवाह गर्न चाहेको बताए । नीलमका ठकुरी बुबा ढकालसँग विवाह गरिदिन राजी भएनन् । उनको परिवारको चयन ठकुरी बिरादरीमै थियो । तर दुवैको प्रेमले शाहको परिवार विवाहका लागि राजी भयो र चिनजान भएको डेढ महिनामै ठकुरी परिवारकी नीलमसँग २०५९ मंसिर १४ मा ढकालको विवाह भयो।

शाहसँग विवाह भएसँगै ढकालको लवाइखवाइ र जीवनशैली नै बदलियो । साधारण स्वभावका उनी एकाएक कानमा कुण्डल लगाउँदै देखापर्न थाले । शाहमा पनि मोडलिङको सौख थियोे । उनले ढकालसँगै ‘नजिक आउनुमा’ बोलको गीतमा म्युजिक भिडियोमा अभिनय गरिन् ।

विभिन्न आरोह अवरोह पार गर्दै १७ वर्षको वैवाहिक जीवन यात्रा पार गरेका ढकाल दम्पतीले अहिले कानुनी रुपमा सम्बन्धलाई टुङ्ग्याएका छन् । उदाहरणीय जोडीको रुपमा रहेका जोडीले नै डिभोर्स गरेपछि सामाजिक संजालमा तरङ्ग नै पैदा भयो । कतिले त यो कुरा पत्याउनै सकेनन् र मिडियालाई गालीसमेत गर्न भ्याए । शाहले ढकालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको र सोही अनुसार दुवैबीच सहमतिमा छोडपत्र भएको समाचारसँगै फोटोसमेत सार्वजनिक भयो ।

साँच्चै हो त ? भन्ने आशंकाकाबीच फेरि ढकालले आफ्नो आधिकारिक फेसबुक पेजमा श्रीमती शाहसँगै रहेको मायालु तस्बिरमा लभ इमोजी राख्दै लेखे– ’अरुले जे सुकै भनुन् हाम्रो कसिलो सम्बन्ध कहिल्यै मर्ने छैन ।’

सामाजिक सञ्जालमा ढकालका शुभचिन्तकहरुले उनकी श्रीमती शाहलाई विभिन्न प्रकारका आरोप लगाउँदे गाली गर्न थाले । अर्को दिन फेरि ढकालले आफ्नो फेसबुक पेजमा लेखे, ‘नेपाली गीतसंगीत क्षेत्रमा मलाई अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती नीलम हुन्। हामी सधैँझैँ हाँसीखुशी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

श्रीमतीसँगै भएको तस्बिरसहित यस्तो सन्देश आएपछि सम्बन्धविच्छेद हल्ला मात्रै रहेछ भन्ने देखियो । उनको फेसबुकको स्ट्याटस र सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थालेपछि मिडियाकर्मीदेखि लिएर दर्शक श्रोता अझै दोधारमा परे । भारतीय चर्चित गायिका आशा भोसलेको उपस्थिती रहेको सोल्टी होटलको कार्यक्रममा पनि उनी श्रीमती नीलम शाह र छोरीसँगै कार्यक्रममा उपस्थित भए ।

कार्यक्रममा यी तीनै जना एकै लहरको सिटमा बसे । ढकाल र उनकी श्रीमतीका बीचमा छोरी रानी थिइन् । कार्यक्रममा आमा–छोरी खासखुस गफ गरिरहेका थिए । बीचबीचमा ढकाल पनि मिसिन्थे छोटो गफमा । कार्यक्रम सकिएपछि ढकाल, नीलम र रानीसँगै कार्यक्रम हलबाट बाहिरिए । यति मात्र हैन चितवनको हात्ती महोत्सवमा समेत परिवारसहित पुगे । डिभोर्सको समाचार बाहिरिएपछि उनीहरु हरेक कार्यक्रममासँगै देखिन थालेका छन् भने सामाजिक सञ्जालहरुमा पनि फोटो पनि अपलोड गरिरहेका छन् । यसबाट उनीहरुले आफूहरु नछुट्टिएको भनेर सबैलाई जानकारी गराइरहेको भन्ने बुझिन्छ । यता, काठमाडौं जिल्ला अदालतको दैनिक पेशी सूची हेर्दा रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको पुष्टि हुन्छ तर उनीहरुले भने यो कुरालाई स्वीकार गरिरहेका छैनन् ।

ढकालको सम्बन्धविच्छेदको समाचार हल्ला नै रहेछ भन्ने लागेपनि यी दुवैबीच सम्बन्धविच्छेद भएकै हो । समाचार जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो । अदालतबाट पुष्टि भएअनुसार निलमले वादी भएर डिभोर्सको केस शाहले दायर गरेकी थिइन् । अनि प्रतिवादी रामकृष्ण ढकाल ।

सर्वोच्च अदालतको वेबसाइट सुप्रिम कोर्ट डट जिओभी डट एनपीमा गएर काठमाडौं जिल्ला अदालतको वेभ पोर्टलमा रहेको पेशी सूचीसँगै रहेको विस्तृत विवरणमा क्लिक गरी आउने बक्सामा मुद्दा नम्बर ०७६–सिपी–३१८८ राखेर हेर्दा पुष्टि हुन्छ यो प्रकरण ।

जिल्ला अदालतमा रहेको विवरणअनुसार २०७६ पुस ८ गते मुद्दा दर्ता भयो । मुद्दा दर्ता गरेकी थिइन्, नीलम शाह ढकालले । विषय सम्बन्धविच्छेद । अनि प्रतिवादी काठमाडौं महानगरपालिका वडा नम्बर २ निवासी रामकृष्ण ढकाल । दोस्रो दिन १० गते न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाई शुरु भयो ।
कोइरालाले शाहलाई कतै कुनै करकाप वा डर धम्कीमा मुद्दा दिएको हो कि राजीखुसी भनेर जिज्ञासा राख्दा उनले राजीखुसीमै सम्बन्धविच्छेद गर्न चाहेको बताइन् । सम्बन्धविच्छेदको कारण खुलाउँदा उनले यस्तो कारण दिइन्, ‘ढकाल आफ्नो काममा प्रायः सधैँ नै व्यस्त रहँदा घरपरिवारलाई समय नदिएको, पति र पिताको दायित्व पूरा गर्नुस् भन्दा कामको व्यस्तताले समय नदिँदा मनमुटाव र सामान्य झैँझगडा हुन थालेको र बस्न विदेश जाऊँ भन्दा नमानेको।’

उनले श्रीमान्–श्रीमतीको रुपमा छुट्टिएर बस्नु भन्दा सम्बन्ध विच्छेद गरेर स्वतन्त्र रुपमा बस्नु ठीक लागेको भन्दै अंश दाबी नगर्ने र छोरी आफूसँग रहनुपर्ने माग गरेकी थिइन्।

शाहले विदेश जान नमानेको भन्दै खुलाएको सम्बन्ध विच्छेदको कारणमा ढकाल सहमत हुँदै छोरी आमासँगै रहने तर संयुक्त लालनपालन गर्न राजी हुँदै सम्बन्ध विच्छेदका लागि मञ्जुर भएपछि न्यायाधीश कोइरालाले निवेदक शाहको मागअनुसार सम्बन्ध विच्छेदको फैसला गर्दै सहमति गराएका थिए। तर यतिका चर्चा परिचर्चा चल्दा समेत ढकाल दम्पतिले मुख खोलेका छैनन्। न त उनीहरुले डिभोर्स भएको हो भन्न सकेका छन् न त उनीहरुले होइन भन्न सकेका छन्।

ढकालले मुख नखोलेपछि ढकालको डिभोर्स सम्पत्तिसँग जोडिएर आयो। उनी र ललितपुरको श्री लालीगुराँस सहकारी संस्थाबीच ऋणको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो । १० वर्षअगाडि घर किन्न ढकालले सहकारीसँग एक करोड ८० लाख ऋण लिएका थिए । तर, उनले समयमा किस्ता नतिरेको भन्दै सहकारीले धितोको रुपमा रहेको उनको घर एक करोड ५० लाखमा आफैँले सकायो। तर विवाद साम्य भएन ढकाल र सहकारीबीच । ढकालले आफूले लिएको सबै ऋण चुक्ता गरिसकेको दाबी गरिरहेका थिए भने सहकारीले भने ढकालले अझै ३ करोड हाराहारी ऋण चुक्ता गर्न बाँकी भएको दाबी गरिरहेको थियो। घर किन्न लिएको एक करोड ८० लाख ऋणको चक्करमा उनको घरै लिलाम भइसकेको थियो।

सहकारीले २०७६ साउनमा ढकालले नाममा अझै २ करोड ३० लाख ऋण बाँकी रहेको भन्दै पत्रिकामा सूचनै निकालेको थियो। कतै सहकारीको ताकेताका कारण भएका अन्य सम्पत्ति पनि लिलाम हुने भयले कतै डिभोर्स गरेका हुन् कि भन्ने आशंका बढाएको थियो।

पत्रिकामा नामै सार्वजनिक भएपछि ढकालले पत्रकार सम्मेलन गरेर आफूले घर किन्न ऋण लिएको स्वीकार गर्दै तर सो बापत सहकारीले घर लिलाम गरेर असुली सकेको र आफूले ऋण तिर्न बाँकी नभएको दाबी गरेका थिए। सहकारीको ऋणको सूचीमा ढकालको मात्र नाम थिएन, उनकी श्रीमती नीलम शाहको नाममा पनि ऋण उल्लेख गरिएको थियो २ करोड ६२ लाख।

वैध ऋणमा यदि कसैले लिएको ऋण नतिरे श्रीमान्, श्रीमतीको सम्पत्ति मात्रै हैन सगोलमा परिवारका नाममा रहेको सम्पत्तिबाट समेत असुल गर्न सकिने कानुनी प्रावधान छ नै। त्यसैले कोही ऋणमा डुबेको हकमा श्रीमतीको नाममा रहेको सम्पत्ति लिलामी हुनबाट जोगाउन कानुनी रुपमा छोडपत्र गर्ने तर व्यवहारिक रुपमा सँगै बस्ने गरेका घटना पनि छन् नै। उनीहरुबीच घर झगडाका कारण डिभोर्स भएको कुरा पनि छ। डिभोर्स हुनुको भित्री कारण नबाहिरिएपनि बेला बखत उनीहरुको सम्बन्धमा खटपट आएको भनेर हल्ला नसुनिएको भने होइन् ।

उनीहरुको सम्बन्धबीच पूर्व युवराज पारस शाह पनि जोडिएका थिए । केही समय अगाडी पारसले आफूलाई निलम मन परेकाले आ–आफ्नो पत्नी साट्ने प्रस्ताव ढकाल सामू राखेको र ढकालले अस्वीकार गर्दा उनीहरुबीच हात हालाहालसम्म भएको भनेर समाचारहरु पनि आएको थियो । यसैक्रममा ढकाल पत्नी निलम भने पारससँग घुम्दै बस्दै आएको र यो कुरा ढकाललाई मन नपरेकाले पछिल्लो समय उनीहरुको सम्बन्ध चिसिएको भन्ने तर्कहरु आइरहेको छ । यद्यपी यसको एकिन जानकारी भने छैन ।

प्रतिक्रिया दिनुहोस्