इरानको प्रत्याक्रमणपछि तेल र सुनको मूल्य आकासियो



एजेन्सी : इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि कच्चा तेलको मूल्य आकासिएको छ । बुधबारको हमला पछि एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले वृद्धि भएको हो ।

कच्चा तेलमो मूल्य वृद्धिसँगै अब यसको मूल्य प्रति ब्यारेल ६९.९४ डलर पुगेको हो ।

इरान–अमेरिका विवादले मध्यपूर्व क्षेत्रमा तेलको आयात बन्द हुनेमा चिन्ता व्यक्त गरिएको छ ।

कच्चा तेलको मूल्य वृद्धिसँगै सुनको मूल्य पनि उचाईमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले गरेको हमलाले अन्तर्राष्ट्रिय शेयर बजारमा समेत नकारात्मक असर पर्न गएको छ ।

जापानको निकेईमा दुई प्रतिशत गिरावट आएको छ भने हङकङको हेन्ग सेन्गमा पनि एक प्रतिशतले घटेको छ ।

कमाण्डर जनरल कासिम सुलेमानीको हत्यापछि बढेको इरान र अमेरिकाको तनावले ओमन, इरान र युएई लगायत विश्वभरीका देशहरुमा तेलको आयात बन्द हुन सक्ने बताइएको छ ।

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट नै तेलको निर्यात हुने हुँदा इरान–अमेरिका तनावले यसका ठूलै असर पुर्याउने देखिन्छ ।

त्यति मात्र होइन, भारतले अमेरिका र रुसबाट समेत तेल आयात गर्ने गर्छ । तर भारतमा सबैभन्दा धेरै तेल मध्यपूर्वका देशहरुबाट आउने र त्यसको एक नम्बरमा इराक र अन्य देशहरु साउदी अरब, ओमान र कुवेत रहेको छ ।

भारतमा तेल आयात बन्द नभए पनि तेलको मूल्यमा भने भारी उथलपुथल आउने देखिन्छ । प्रति ब्यारल कच्चा तेलको मूल्य बढेपछि भारतमा पनि तेलको मूल्य आकासिने निश्चित छ ।

बुधबार अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि इरानी पक्षले दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्