मदिरा सेवन गरेका चालकले अन्धाधुन्ध ट्रक ठोक्काउँदा एकै परिवारका ५ जनाको मृत्यु



एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी साधनलाई आइतबार बिहान ठक्कर दिएको बताएका छन् । दुर्घटनामा पिकअप चालकको पनि मृत्यु भएको छ । 

केन्टकीको इन्टरस्टेट राजमार्गमा उक्त दुर्घटना बिहानीपख साढे दुई बजे भएको थियो । प्रहरीका अनुसार दुर्घटना हुनासाथ एसयुभी कारमा आगो सल्किएको र परिवारका सबै पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

मिसिगनको नर्थभिलमा बसोबास रहेको उक्त परिवार फ्लोरिडामा छुट्टी मनाएर घर फर्कदै थियो । प्रत्यक्षदर्शी केनेथ डीग्याफले पिकअप ट्रक उल्टो बाटो हिँडेको र आफूसँग पनि उक्त गाडी ठोक्किनबाट जोगिएको बताए  । ‘त्यो पिकअप ट्रक बीच बाटो (लेन) मा उल्टो दिशातर्फ दौडिरहेको थियो । मैले आफ्नो सवारीलाई बल्लतल्ल जोगाएर दाहिने लेनमा लैजानु परेको थियो । मेरो विचारमा त्यो गाडी गुडिरहेको होइन, उडिरहेको थियो ।’ 

प्रहरीले मारिनेहरुमा इसाम अब्बास र रीमा अब्बास तथा उनीहरुका तीन जना छोराछोरी अलि अब्बास, इसाबेला अब्बास र गिसेल अब्बास रहेको जनाएको छ । 

पिकअप ट्रकका चालक भने जर्जटाउनका ४१ वर्षीय जो ली बेली रहेका छन् ।  इन्टरस्टेट राजमार्गमा पछिल्ला केही दिनहरुमा भएका दुर्घटनाहरुमा मृत्यु हुनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्