रुप बदल्दै जनकपुरधाम, नमुना सहर बन्नेमा स्थानीय आशावादी



जनकपुरधाम : अबको दुई वर्षपछि जनकपुर तराई मधेसको नमुना सहरमध्ये एक बन्नेमा स्थानीय आशावादी छन् ।

जनकपुरमा अहिले भइरहेका विभिन्न विकास परियोजनामा ६ अर्बभन्दा बढ़ी रकमको काम समयमै सम्पन्न भए जनकपुरधाम सुन्दर र सफा नगरीका रुपमा देखा पर्ने युवा व्यवसायी प्रमोद चौधरी बताउँछन् ।

चौधरीका अनुसार एसियाली विकास बैंकको सहयोगमा जारी आइयुडिपी परियोजना, खानेपानीको पोखरी सौन्दर्यीकरण, सहरी विकासको बजेटले भइरहेको विकास कार्य समयमै सम्पन्न भए जनकपुरधाम दुई वर्षमा साँचीक्कै गज्जबको सहर हुनेछ । 

एसियाली विकास बैंकको १ अर्ब ९० करोड रुपैयाँ (१९ दशमलव ४४ मिलियन डलर) आर्थिक सहयोगमा निर्माणाधीन जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजना अन्तिम चरणमा पुगेको छ । 

जनकपुर उपमहानगरपालिका, एसियाली विकास बैंक र ठेकेदार जेडआइपिसी रमन कन्स्ट्रक्सन कम्पनीबीच ५ डिसेम्बर २०१८ सम्म परियोजना पूरा गर्ने सम्झौता थियो । 

एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ३१ किलोमिटर ह्युमपाइप विस्तार, ड्रेन निर्माण, ढल निकास, ३० मिटर चौडाइको ९ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । विवादका कारण शिवचोकदेखि कदमचोकसम्म १ सय ३४ मिटर, मुरलीचोकमा सय मिटर, रेलवे स्टेसनमा सय मिटर, बन्सिचोकमा सय मिटर, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म १५ सय मिटर सडक कालोपत्रे गर्न मात्र बाँकी रहेको जनकपुर उपमहानगरपालिकाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।

स्थानीय व्यवसायी गम्भीर झा अबको तीन महिनामा जनकपुरको कायापलट हुने बताउँछन् । जनकपुरका ३२ वटा पोखरी सौन्दर्यकरणपश्चात् सहरको सौन्दर्य अझै बढ्ने उनको विश्वास छ । झा भन्छन, ‘एक वर्षभित्र जनकपुरमा रात्रिकालीन विमान अवतरण हुन्छ । प्रदेश सरकारका अनुसार दुईचार महिनामा ट्रेन पनि चल्छ अनि किन हुँदैन विकास ?’

जटही–जनकपुर–ढल्केवर ६ लेनको सड़क खण्ड निर्माण कार्य द्रुत गतिमा हुँदैछ । सड़क फराकिलो बनाइसकिएको छ । माटो हालेर मिलाउने कार्यले पनि गति लिएको छ । जनकपुर–भिठ्ठामोड सड़क खण्ड पनि चार लेनको हुँदैछ । काम सुस्त गतिमा भए पनि ढिलोचाँडो सम्पन्न हुन्छ नै । 

 

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आगमनपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा निकै वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्