मापदण्ड विपरीत मासु पसल



सुर्खेत : वीरेन्द्रनगर नगरपालिका सुर्खेतका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नगरपालिकाको नेतृत्वमा आज गरिएको संयुक्त बजार अनुगमनको क्रममा यहाँको खोर्केलाइन, समावेशी चोक जुम्ला रोड, गण्डकी लाइन र हटिया क्षेत्रमा सञ्चालित मासु पसल नियम विपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगर–६ कर्णाली मासु पसल ४ स्थित मास्की मासु पसल, भ्याली स्वच्छ मासु पसल र वी.न.पा.३ गण्डकीलाइनस्थित भेरी बङ्गुर तथा राँगा मासु पसल मापदण्ड विपरीत सञ्चालन रहेको नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए ।

“मासु पसल सञ्चालनमा छन् तर धेरैले दर्ता विना नै सञ्चालन गरेको पाईयो,” अधिकृत पौडेलले भन्नुभयो, “दर्ता भएका पसल व्यवसायीले नवीकरणसमेत गरेका छैनन् ।” ढक तराजु व्यवस्थित नगरेको, मासु पसल नै दुर्गन्धित रहेको, कुहिएको मासु बिक्रीमा राखेको, मूल्यसूची नटाँसेको अवस्थामा पसल सञ्चालनमा रहेको अनुगमन टोलीले भेटाएको उनले जनाए ।

उनका अनुसार अनुगमन क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गर्ने व्यवसायीलाई तीनदिन भित्र व्यावसायिक प्रमाणपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनी कारवाही हुने चेतावनी दिए ।

नगर पशु विकास अधिकृत यज्ञ पाण्डे मासु तथा मासुजन्य पदार्थको तौल, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यानमा राखेर व्यापार व्यवसाय गर्न सञ्चालकलाई सुझाए । पहिलो पटक व्यवसायीलाई सचेतना भएको जनाउँदै उनले आगामी दिनमा गल्ती दोहो-याए कानूनी कारवाही हुने बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा यामबहादुर अधिकारी, नगर प्रहरी इञ्चार्ज मिनबहादुर विष्ट, नगर निरीक्षक टंक आचार्य, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि जनकबहादुर थापा तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्