ओली प्रचण्डले अाइतबार नेकपाको ‘हाइकमाण्ड बैठक’ बोलाए



काठमाडौं : नेकपाको शक्तिशाली भनिएको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको हो ।

 

बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार बस्ने बुझिएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतवार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।

 

प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ । सो प्रस्ताव स्थायी कमिटीबाट पारित गर्ने सहमति अध्यक्षद्धयबीच भएको स्रोतले जनाएको छ ।

दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्