बेसहारा बृद्ध दम्पतीलाई डा.शर्माको साथ, सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभास



विराटनगर : धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको बारमाथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो ।

 

 झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झंै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ । 

 

मोरङको बेलवारी नगरपालिका–४ सखुवाटोलीका ७३ वर्षीय परु र श्रीमती बुधुनी चौधरीलाई गरिबीको चरम पीडा त छँदै थियो त्यसमाथि दशा पनि थपिएपछि उनीहरुको केहि सिप लागेन । २२ वर्षीय एक्लो छोरालाई तीन बर्ष अघि गुमाएकी बुधुनीको हिँड्ने क्रममा लडेर खुट्टा भाँचियो । 

दुई छाक टार्न हम्मेहम्मे भइरहेको अवस्थामा भाँचिएको खुट्टाको उपचार गर्न सक्ने अवस्था नै थिएन । उपचार गर्न नसकेर खुट्टाको पीडा बढ्दै गएपछि बुधुनीलाई त्यही खुट्टाको पीडाले ज्यान नै जान्छकी जस्तो भयो । तर, यही अवस्थामा विराटनगरको नोवेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उनीहरुलाई साथ दिएपछि चौधरी दम्पतीको यो पीडामा मलम लागेको छ ।

  

खुट्टा भाँचिएपछि ओछ्यानमै थला परेकी बुधुनीे उपचार नपाएर समस्यामा थिइन । ‘अब यत्तिकै कुहिएर मर्छु जस्तो लागेको थियो,’ आँखाभरी आँसु पार्दै बुधुनीले भनिन्, ‘उपचारमा सहयोग गर्ने भेटेपछि भगवान पाए जस्तो भएको छ ।’ असहाय र विपन्न बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी डा. शर्माले झुपडीमै पुगेर उपचारका लागि बुधुनीलाई नोवेल अस्पताल ल्याएका हुन् ।

 

स्थानीय राजकुमार लिम्बू, चन्द्र लिम्बूलगायतले उनीहरुको अवस्था बताएपछि डा. शर्मा उद्धार गर्न चौधरीको घरमै पुगेका थिए । डा.शर्माले नोवेल अस्पतालमा २२ दिनसम्म राखेर बुधुनीको भाँचिएको खुट्टाको उपचार गराए । उपचारका क्रममा लागेको सबै खर्च, औषधि र वृद्धवृद्धा दुबैलाई खाना तथा खाजा पनि डा.शर्माले नै दिएका थिए ।

 

 उपचारपछि खुट्टा ठिक भएर बुधुनी अहिले घर फर्किएकी छन् । उपचारका क्रममा पटक–पटक बिरामीको अवस्था बुझ्न पुगेका डा.शर्मा उनीहरु घर फर्किएपछि पनि हेरचारका लागि घरमै पुगे ।

 

समस्यामा पर्दा सहयोग गर्नु मानविय कर्तव्य भएकाले सहयोग गरेको डा.शर्माले बताए । ‘आर्थिक अभावले समस्यामा परेका वास्तविक विपन्न बिरामीलाई सहयोग गर्दै आएको छु,’ उनी भन्छन् ‘वृद्ध आमा बुवाको पनि धेरै विजोक देखेर सघाएको हुँ ।’ वृद्ध अवस्थाका चौधरी दम्पतीलाई साथ दिने अरु कोही छैनन् । २२ वर्षको एक्लो छोराको पनि मृत्यु भएपछि उनीहरु बेसहारा छन् । 

 

सक्दा अरुलाई काम सघाएर खानाको जोहो गर्छन् । नसके अरुसँग मागेर जीविका चलाउँछन् । दुबै उपाय नमिल्दा धेरै दिन भोक–भोकै तड्पिने गरेको वृद्ध परुले सुनाए । ‘न त पौरख गरेर खान नै सक्छौ,’ दुखेसो पोख्दै उनले भने ‘न गरिखान सकिन्छ न त मरिजान नै, बिजोक छ हजुर ।’ उनले उपचारको सबै खर्च डा. शर्माले दिएर उपचार सफल भएपछि नयाँ जीवन पाएको आभाष भएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्