उत्खननलाई रोक्न र उद्याेगका लागि मापदण्ड बनाउन अनुगमन उपसमिति गठन



जनकपुरधाम : प्राकृतिक स्रोतसाधन संरक्षण गर्न, अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योगलाई मापदण्डमा ल्याउन धनुषा जिल्लामा उपसमिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दीपक झाको संयोजकत्वमा नाैं सदस्य अनुगमन समिति गठन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जनाए ।

 

जिल्लाभित्र गैरकानूनी रुपमा भइरहेको उत्खननलाई रोक्न र नियम विपरीत सञ्चालनमा रहेका र नरहेका उद्योगहरुलाई कानूनी दायरामा ल्याउनलाई नै अनुग समिति गठन गारिएको प्रमुख जिल्ला अधिकारी कणेलले जनाए ।

 

जिल्ला समन्वय समितिका प्रशासन शाखा प्रमुख सदस्य सचिव रहेको उपसमितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ धनुषा, घरेलू तथा साना उद्योग कार्यालय धनुषा, डिभिजन वन कार्यालय धनुषा, शसस्त्र प्रहरी बल धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशाशन कार्यालय धनुषा र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि सदस्यहरु रहने गरी उपसमिति गठन गरिएको हो ।

 

समितिले बुधवारदेखि नै जिल्लाभित्र रहेका क्रसर उद्योग र कारखानालाई अनुगमन गर्ने उपसमितिका संयोजक दीपक झाले द नेपाटप लाई जानकारी दिए । उपलब्ध तथ्यांकअनुसार धनुषामा अहिले ९ ओटा क्रसर उद्योगहरु दर्ता रहेको पाइएको छ ।

 

धनुषाको वेंगाशिवपुर ४ मा सुभास क्रशर उद्योग, तल्लो गोदर ३ मा कमला स्टोन क्रशर उद्योग, नगराइन ४ को कमारीमा गिट्टी उद्योग, नवटोली १ को कमलामाई क्रसर उद्योग, तुलसी ६ को क्षीरेश्वरनाथ क्रसर उद्योग, घोडघास ६ का जयमातादी स्टोन क्रसर उद्योग, मिथिला नापाको सुमित क्रसर उद्योग सञ्चालनमा रहेको तर नवीकरण नगरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्