उत्तर कोरियाली नेता किम अचानक चीन भ्रमणमा



बेइजिङ : उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । 

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर सम्मेलनको तयारीका रुपमा लिइएको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा बेइजिङ पुगेका किम चार दिनसम्म त्यहाँ रहने कार्यक्रम छ । नेता किम रेलमार्ग हुँदै चीन गएको एएफपीले जनाएको छ ।

किमका साथमा श्रीमती री सोल जुसहित उत्तर कोरियाली उच्चस्तरीय प्रमण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ । 

 

गत वर्षको जुनमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । किमको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर बैठक चाँडै हुँदैछ भन्ने अनुमानलाई थप सहयोग पुग्ने अनुमान गरिएको छ । 

यसअघि संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर स्थान र मिति भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्