आज पुस शुक्लपूर्णिमा : एक महिने श्री स्वस्थानी व्रत कथा प्रारम्भ



काठमाडौं : आज पुस शुक्लपूर्णिमा । आज (शुक्रबार)बाट माघमहात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ भएको छ ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको हो ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आजबाट काठमाडौं, साखुँस्थित शालीनदिमा ब्यापक घूइँचो लाग्ने गर्दछ ।

मध्य जाडो अनि पर्र्वतिय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर फर्किनेहरूको साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुने विश्वास छ ।

सतिदेवी दक्ष प्रजापतिकी छोरी हुन् । तर, दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गरेको पौराणिक कथा छ । जल्दै गरेको उनको शरिरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमा गर्दा सतिदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।

सतिदेवीको शरिरको अन्तिम अंश झरेर गुहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरू अझै रहेको बताइन्छ । पछी हिमालयपुत्री पार्वतीले शिवजी वर पाँउ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजीसँग विवाह भएका कुराहरू पनि उल्लेखित छन् ।

आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरू एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।

स्वस्थानी व्रत समापन गर्दा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्