३० हजार कर्मचारीको विवरण अद्यावधिक



काठमाडौँ : कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । 

 

कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए । उनका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् ।

 

 कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले दैनिक हजार कर्मचारी आफैँ आएर विवरण अद्यावधिक गराउने गरेका छन् । 

 

उनीहरुले आफैं आएर वा अनलाइनबाट विवरण अद्यावधिक गराइरहेका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछन् । 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले अहिलेसम्म २० हजार ५०० कर्मचारीले समायोजन रोजिसकेको बताए । यस्तै ३८ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरिसकेका र अभिलेखीकरण गर्न बाँकी रहेका छन् । 

 

समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने छ । 

 

प्रतिक्रिया दिनुहोस्