‘ज्यानमारा एम्बुलेन्स’को पोल खुलेपछि ड्राईभरहरुको भागाभाग, प्रदेश मन्त्रालय संकटमा



धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले गत कात्तिक २० गते यस प्रदेशका विभिन्न अस्पताललाई ७० वर्ष पार गरेको जेष्ठ नागरिकलाई निशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क छुट दिएर सेवा संचालन गर्ने गरी निशुल्क रुपमा वितरण गरेका १६ वटा एम्बुलेन्स अहिले काम लाग्ने नभएपछि यो चर्चाको विषय बनेको छ । मन्त्रालयले वितरण गरेका यी एम्बुलेन्स एकपछि अर्को गर्दै बिग्रन थालेपछि र अत्यन्तै जोखिमपूर्ण बनेपछि चालकहरुले चलाउन पनि छाडेका छन् ।

मन्त्रालयले आधुनिक र सुबिधासम्पन्न भनेर बितरण गरेका ती एम्बुलेन्स १६ वटा थोत्रा मिनिट्रकलाई रंगरोगन गरेर नयाँ जस्तै बनाई एम्बुलेन्सको स्वरुप दिएर बितरण गरिएको रहस्य पनि खुलेको छ ।

यी एम्बुलेन्सहरु दुर्घटना हुनसक्ने हुनाले त्रसित बनेका चालकहरु त्रसित बन्दै चलाउन छाडेका छन् । एम्बुलेन्स चालकहरुले यी एम्बुलेन्सहरुलाई ज्यानमारा एम्बुलेन्स भन्दै चलाउन छाडेको एक चालकले बताएका छन् । यो विषयले सुदूरपश्चिम प्रदेश सरकार र समाजिक बिकास मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालयमा यो सम्बन्धी गुनासो बढेपछि यसलाई व्यवस्थापन गरेर सामसुम पार्न मन्त्रालय लागेको छ । कतिपयले प्रदेश सरकार लोकप्रिय बन्नका लागि यस्तो छदमभेषी र ज्यानमारा काम गरेको भन्दै आलोचना गरेका छन् कतिपयले यस प्रदेशका जनतामाथि खेलबाड गरेको बताएका छन् ।

मन्त्रालयले १६ वटा थोत्रा ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर विभिन्न अस्पताललाई बाडेका थिए । अहिले ती मध्ये धेरैजसो एम्बुलेन्सहरु त्यसै थन्किएका छन् भने चालु रहेका एम्बुलेन्स पनि डराई डराई चलाउनुपरेको चालकहरुले गुनासो गरेका छन् । मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने डरले चालकले समेत चलाउने आँट गरेका छैनन् । मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएकाले चालकहरुले पुरानै एम्बलेन्स चलाउन छाडेका हुन ।

जोखम मोलेर त्यो एम्बुलेन्स चलाउनुभन्दा पुरानै एम्बुलेन्स चलाउन उचित ठानेर पुरानै एम्बुलेन्स प्रयोग गरिरहेको डोटी जिल्ला अस्पतालका चालक रतन धामीले बताए । उनले भने– नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।

यस्तै मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सुरक्षित र सजिलो भएका कारण पुरानै एम्बुलेन्स चलाईरहेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए । उनका अनुसार एम्बुलेन्स पुराना भए पनि रङ रोगनले मात्रै नयाँ भएकोले मन्त्रालयले दिएको एम्बुलेन्स चलाउन डरमर्दो भएको हो ।

मन्त्रालयले दिएको एम्बुलेन्सको ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन निकै कठिनाइ भइरहेको चालकहरुको दाबी छ । उता जिल्ला अस्पतालले पनि मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको बताएका छन् । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको चालकहरुले बताएका छन् । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो रहेको छ ।

मन्त्रालयको सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गर्दै मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्