मापसेले पुर्यायो ११६ नेपालीलाई युएई कारागार



काठमाडौं : मादक पदार्थको सेवन (मापसे) का कारण सिर्जित समस्याबाट थुप्रै नेपालीले संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । 

 

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बरमा युएईका सातवटा इमिरेट्समा रहेका आठ जेलमा अध्ययन गरेको थियो । ती जेलमा रहेका नेपालीमध्ये ५८ प्रतिशतले मापसेका कारण कैद सजाय पाएको अध्ययनले देखाएको छ । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाएको तथा झैझगडा गरेका कारण १ सय १६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । 

 

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपालीले कारावासमा सजाय भुक्तान गरिरहेका छन् । 

 

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र कानुनले वर्जित अन्य गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । २२ नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । 

 

दूतावासका अनुसार १ सय ८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ । 

 

रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एकएक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्